काठमाडौं : चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को प्रिमियर शो सम्पन्न भएको छ। काठमाडौंमा बुधवार भएको प्रिमियर शोमा फिल्मकर्मीहरुले ‘प्रेमा’ लाई सकारात्मक प्रतिक्रिया दिए।
‘महापुरुष’ बाट डेब्यू गरेकी अभिनेत्री अञ्जना बराइलीले फिल्मका साथै मुख्य कलाकारहरुको अभिनय राम्रो रहेको बताइन। ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन्।
त्यस्तै, अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको सुनाए। साथै अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा मिल्ने उनको भनाई थियो।
फिल्मका अभिनेता अरुण क्षेत्रीले प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट आफू फिल्म चल्नेबारे ढुक्क भएको बताए। ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ। किनकी फिल्म बाहिर आइसकेको थिएन। तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।
अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन्। ‘म अत्यन्त खुशी छु। मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ। मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, उनले भनिन् ।
फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ। बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको फिल्मका निर्माता विवेक घिमिरे हुन।
निर्देशक भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग 'कनेक्ट' गरेको बताए। ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।
फिल्ममा अरुण, सुभेक्षाका साथै सृष्टि श्रेष्ठ,साथै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु) को अभिनय छ।