PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

अछामको काखमा महिनौँसम्म सपनामा आइरहने तालको सहर!

अछामको काखमा महिनौँसम्म सपनामा आइरहने तालको सहर!

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

पोखराबाट डिलक्स कोच भनेर चढेको, रातभरि हिटर पनि लगाएनन्। भोलिपल्ट कोहलपुर पुग्दा बेस्कन थाकियो। त्यहाँबाट फोर्स गाडी चढेर ११ घण्टामा अछामको सदरमुकाम मङ्गलसेन पुगियो। एक रात त्यतै बस्नु पर्‍यो।

त्यहाँबाट जिप रिजर्भ गरेर अर्को दिन रामारोशन पुग्दा रात पर्न लागेको थियो। ४ घण्टाको बाटो ढिला हिँडेको हुँदा त्यस्तो अवस्था आयो।

चिसो सिरेटोको अनुभव पनि राम्रैसँग गरियो। खाना र बास महँगो नभए पनि पुग्दा खेरि नै कहिले पनि आउन नपरोस् जस्तो लागि सकेको थियो। वनको बिचमा रहेको होटेलमा व्यस्त इन्द्र बहादुर रोकायाको बोल्ने फुर्सद थिएन। पाहुनाको घुइँचो थियो।

बझाङ, कालिकोटलगायत पश्चिम क्षेत्रका पाहुनाहरू आउँदा रहेछन्। काठमाडौं र अन्य सहरबाट अनुसन्धान गर्ने समूहहरू पनि कहिले काहीँ आइरहने रहेछन्।

बिहान उठ्ने बित्तिकै तेर्सो उकालो लगियो। २-४ घर भएको सानो बस्ती छेवैमा रहेको तल्लो धौने ताल वनको बिचमा थियो। फोहर थिएन। सुनसान वनमा चराहरूको चिरबिराहटले सुनमा सुगन्ध थपेको थियो। हामी विस्तारै माथि लाग्यौँ, एक पछि अर्को ताल झन् राम्रो देखिँदै गयो।

यो क्षेत्र लाई १२ बण्ड १८ खण्ड भनिने रहेछ। अर्थात् १२ तालहरू र १८ वटा पाटनहरू भएको ठाउँ। त्यहाँ रहेका तालहरू सुनिबन गेराह, जिंगले, बादुल्ला, लामादह, लिस्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउले, डउंठे र दल्लेंना हुन्। यी मध्ये धेरै जसोमा पुगियो।

यी तालहरूमा चखेवाको जोडी लगायत थुप्रै पानी हाँसहरू रमाई रहेका थिए। सबै भन्दा ठूलो र सुन्दर जिन्गले ताल पुग्दा बाटोमा पाएका दुखहरू सबै एकै पटक हराए।

तालको छेउमा पलाएका लेउ, त्यही लेउमा लुकामारी गरिरहेका असला माछाहरू, सिमसारमा आश्रित सिकारी चराहरू हेर्दा प्रकृति प्रेमीहरू मन्त्र मुग्ध हुने ठाउँ रहेछ। ताल वरपर रहेका ठूला-ठूला रुखहरू र तिनको छाया निलो पानीमा पर्दा एकटक लगाएर हेर्न मन लाग्ने।

हामीले अघाउन्जेल फोटोहरू खिच्यौँ। सबै तालहरूमा पुग्न १ दिनले नपुग्दो रहेछ। मनिसहरु भने सुरुका १, २ वटा तालहरूमा फोटो खिचेर फर्कने रहेछन्। तालहरू समुन्द्र सतहदेखि २१०० मिटरदेखि २५५० सम्म फैलिएको रहेछ।

यो ठाउँ घुमेर फर्कँदा महिनौँसम्म तालहरू सपनामा आइरहन्छन्। बजार क्षेत्रमा प्लास्टिक र अन्य फोहोरले भरिएको ताल तथा खोल्साहरू हेरी रहेका हामीलाई यहाँको तालले मोहनी लगाउने निश्चित छ। अब भने यो ठाउँमा फेरी कहिले आउने होला जस्तो भैसकेको थियो।

तिनै तालको सुन्दरता फोटोमा हेरौँ :

 



ट्रेन्डिङ पोस्ट

Ncell