काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ।
प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र कोशी प्रदेश आमनेसामने हुनेछन्।
लिग चरणबाट एपीएफ शीर्ष स्थान र कोशी प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए। समूह चरणमा एपीएफले कोशी प्रदेशमाथि ७ विकेटको जित निकालेको थियो।
समूह चरणमा एपीएफ अपराजित रहँदै ४ खेलबाट ८ अंक जोडेको थियो भने कोशी प्रदेशले ४ खेलबाट ६ अंक जोडेको थियो।
वर्चस्व बनाउँदै सीता
फाइनल खेलसम्म आइपुग्दा एपीएफकी सीता राना मगर सर्वाधिक रन बनाउने र विकेट लिनेमा अगाडि छिन्। उनले सर्वाधिक ८ विकेट लिँदा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री र निशा शाहले समान ६ विकेट लिएका छन्। ब्याटिङतर्फ सीताले नै सर्वाधिक सर्वाधिक १३५ रन बनाउँदा दोस्रो स्थानमा रहेकी रुबिना क्षेत्रीले १०४ रन बनाएकी छिन्। तेस्रो स्थानमा सुदूरपश्चिमकी सम्झना खड्का ९३ रन बनाएकी छन्।