PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

विराट गोल्डकपको उपाधिका लागि विराटनगर सिटी र लुका सकर भिड्दै



रासस

विराट गोल्डकपको उपाधिका लागि विराटनगर सिटी र लुका सकर भिड्दै

सुन्दरहरैचा : सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि बिहीवार भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन्।

शहीद रङ्गशालामा फाइनल खेल साँझ ६:४५ बजे हुनेछ। लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो। घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ।

विराटनगरले पूर्व विजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो। विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २-१ गोलअन्तरले पराजित गरेको थियो।

त्यसैगरी, विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो। विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह-संयोजक सुवाशिष कोइरालाले जानकारी दिए। विसं  २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell