काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधिका लागि कोशी प्रदेशले १ सय ५५ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको एपीएफका लागि कप्तान सीता राना मगर र इन्दु वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारि खेले। सीताले अविजित ७९ रन बनाउँदा इन्दुले अविजित ५१ रन बनाइन्। त्यसअघि एपीएफकी ओपनर ज्योति पाण्डे २ रन बनाएर आउट भएकी थिइन्।
बलिङतर्फ कोशी प्रदेशकी एलिसा खडियाले १ विकेट लिइन्।
लिग चरणबाट एपीएफ शीर्ष स्थान र कोशी प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए। समूह चरणमा एपीएफले कोशी प्रदेशमाथि ७ विकेटको जित निकालेको थियो।
समूह चरणमा एपीएफ अपराजित रहँदै ४ खेलबाट ८ अंक जोडेको थियो भने कोशी प्रदेशले ४ खेलबाट ६ अंक जोडेको थियो।