PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पाँच देशका अध्यागमन 'क्रस' गरेर भित्रियो १७ करोडको कोकिन, नेपालबाट उड्न खोज्दा परे फन्दामा



सविन ढकाल

पाँच देशका अध्यागमन 'क्रस' गरेर भित्रियो १७ करोडको कोकिन, नेपालबाट उड्न खोज्दा परे फन्दामा

काठमाडौं : ठूलो कालो लगेज। त्यसभित्र पहेँलो र नीलो रङ्गका दुई लेडिज ब्याग। ब्यागको ट्यागदेखि प्लास्टिकको र्‍याप समेत खोलिएको छैन। दुईवटा यस्तै प्रकृतिका लगेज बोकेर भारतीय दुई महिलाले विभिन्न देशको विमानस्थल ओहोरदोहोर गरिरहे। छोटो समयमा नै इथियोपिया, गिनी, मोरोक्को, कतार र नेपालसम्म उनीहरूले ट्राभल गर्न भ्याए।

उनीहरूले बोकेको लगेज सामान्य थिएन। त्यसभित्र करौडौं मूल्य पर्ने प्रतिबन्धित लागु औषध कोकिन थियो। फल्स बटम बनाएर लेडिज ब्यागभित्र करिब ८ केजी कोकिन राखेर उनीहरुले यसरी यात्रा गरेको पाइएको हो। एउटा लगेजमा २ किलो ८ सय ग्राम र अर्कोमा ५ केजी कोकिन लुकाएका रहेछन् उनीहरुले। पाँच देशको विमानस्थल पार गर्दा पनि उनीहरूमाथि कसैको नजर परेन। तर, जब नेपालबाट भारत उड्न लागे, उनीहरू समातिए। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गर्‍यो। त्यसपछि खुल्यो कोकिन कारोबारको रहस्य। उनीहरुबाट बरामद भएको कोकिनको मूल्य झन्डै १७ करोड रहेको प्रहरीको दावी छ।

पक्राउ पर्नेमा ४५ वर्षीया भारतीय महिला भनल्वामी र २९ वर्षीया इस्तेर लालहालिम्पुई रहेका छन्। उनीहरू दुवै नातेदार भएको प्रहरी अनुसन्धानमा खुलेको छ। केही दिनको अपरेसनपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका एसपी चक्रराज जोशीले बताए।

कोकिन लिन भारतदेखि इथोपियासम्म

भनल्वामी डिभोर्सी महिला हुन्। उनका तीन सन्तान छन्। चार वर्ष अगाडि ग्यास लिक हुँदा उनी घाइते भएकी थिइन्। चार वर्षअघिको घटनाको खत अझै पनि उनको अनुहारमा देख्न सकिन्छ। पक्राउ पर्नुभन्दा ९ दिन अगाडि अर्थात् चैत ५ गते उनी भारतको नयाँ दिल्लीबाट इथियोपिया उडिन्। ९ दिनसम्म त्यही बसिन्। ९ दिनका दिन उनलाई कसैले एउटा लगेज थमाएको थियो। त्यही लगेज विभिन्न देश हुँदै नेपालबाट भारतको नयाँ दिल्ली पुर्‍याएपछि उनको यात्रा सकिन्थ्यो। त्यति गरे बापत भारु १ लाख उनले पाउँथिन्।

आर्थिक अवस्था कमजोर, उपचारको लागि पनि पैसा आवश्यक भएकाले १ लाख पाउने लोभमा कोकीनको पोको उठाउन उनी तयार भएको बयान दिएकी छिन्। इथोपियाबाट उनले गिनी, मोरक्को त्यसपछि कतारको दोहा हुँदै नेपालसम्मको यात्रा गरिन्। चैत १३ गते काठमाडौं विमानस्थलबाट बाहिरिएपछि ठमेलको होटेलमा बसिन्। चैत १४ गते बिहान सवा ११ बजे भारतको नयाँ दिल्ली जाने तयारी थियो। त्यसै अनुसार इथोपियाबाट ल्याएको लगेज लिएर उनी विमानस्थल पुगिन्। उनको यात्रा टुङ्गिँदै थियो। तर, काम फत्ते हुन नपाउँदै नेपाल प्रहरीको टोलीले उनलाई पक्राउ गर्‍यो। लगेजमा २ किलो ८ सय ग्राम कोकिन भेटियो।

'उनको व्यवहारमा शङ्का लागेर हाम्रो टोलीले चेक गर्दा कोकिन भेटिएको थियो,' एसपी जोशीले भने।

नयाँ दिल्ली जान लागेकी भनल्वामीको यात्रा नेपाल प्रहरीको हिरासत तर्फ मोडियो। उनको कारोबारको ट्रेन्डलाई प्रहरीले पछ्याइरहेको थियो। फेरि, अर्को गिरोह पनि हुन सक्ने आशङ्कामा प्रहरीले अपरेसन यथावत् राख्यो। त्यसै दिन उनीजस्तै विदेशबाट सोही रूट हुँदै आएकी अर्की महिलालाई प्रहरीले पछ्यायो। भनल्वामी ठमेलको जुन होटेलमा बसेकी थिइन्, इस्तेर लालहालिम्पुई पनि त्यही बसेको खुल्यो। प्रहरीको अनुसन्धान साँघुरो हुँदै गएको थियो।

प्रहरी होटेलमा पुग्यो। उनले पनि भनल्वामी झैँ लगेज बोकेको भेटियो। त्यसभित्र पनि लेडिज ब्याग भेटियो। खोलेर हेर्दा भनल्वामीको भन्दा दोब्बर मात्रामा कोकीन फेला पर्‍यो। पाँच केजी कोकिन उनले बोकेकी थिइन्। कपडा पसलमा काम गर्ने उनलाई पनि १ लाख रुपैयाँ दिने आश्वासनमा कोकिन पठाइएको थियो। उनी पनि हिरासतमा पुगिन्।

'कोकिन बोकेर पठाउने गिरोह दुवै जनाको एउटै भएको खुल्छ। हामीले भारतीय पक्षसँग पनि सम्पर्क गरेर अनुसन्धान गरिरहेका छौँ,' एसपी जोशीले भने।

कोकिनको कारोबारका घटनामा भरिया मात्र पक्राउ पर्नेक्रममा यी दुई पछिल्ला उदाहरण बनेका छन्। तर, नेपालमा आएको कोकिन सडक मार्ग हुँदै भारत पठाउने गिरोह पनि सक्रिय हुनसक्ने देखिएको छ। यस घटनामा विमानस्थल नै प्रयोग भएको पाइन्छ। नेपालमा कोकिन प्रयोगकर्ता कम छन्। त्यसैले नेपाललाई गिरोहले ट्रान्जिट मात्र बनाउने गरेका छन्। यस घटनामा विमानस्थल प्रयोग हुनुलाई उनीहरूले नयाँ ट्रायल त गरिरहेका होइनन् भन्ने शंक प्रहरीले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell