PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

स्वर्णिमले कांग्रेस छाड्दै गर्दा लगाए यस्ता आरोप



पहिलोपोस्ट

स्वर्णिमले कांग्रेस छाड्दै गर्दा लगाए यस्ता आरोप

काठमाडौं :  अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक संजालमार्फत कांग्रेस छाडेको घोषणा गरेका हुन्। ५० वर्षदेखि पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेसबाट आफू अलग्गिएको वाग्लेले बताएका छन्। 'विस २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,' वाग्लेले भनेका छन्।

उनले पार्टीमा ३० वर्षदेखि कांग्रेसमा प्रत्यक्ष वा परोक्ष सेवा गरेको उल्लेख गर्दै सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारीकोसमेत प्रशंसा गरेका छन्। 'पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें,' वाग्लेले लेखेका छन्, 'विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।'

देउवा प्रधानमन्त्री भएका बेला योजना आयोगको उपाध्यक्ष बनेका वाग्ले गत चुनावमा उम्मेद्वार बन्न चाहेका थिए। तर, कांग्रेस सभापति देउवाले उनलाई चितवन-१ मा रोक्दै डा. विश्व पौडेललाई उम्मेद्वार बनाएका थिए। पार्टी छाड्दाछाड्दै वाग्लेले पार्टी नातावादको गिरोहमा परिणत भएकोसमेत आरोप लगाएका छन्। 'तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,' उनले भनेका छन्। 

वाग्लेले आफू नयाँ सार्वजिक भूमिकामा सक्रिय हुने उद्घोषसमेत गरेका छन्। 'अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,' उनले भनेका छन्, 'सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।' वाग्ले केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने र तनहुँ १ बाट उम्मेदवार बन्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell