PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

केन्द्रमा झैं वाग्मतीमा पनि मन्त्रालय बाँडफाँटमा जुटेन सहमति 



पहिलोपोस्ट

केन्द्रमा झैं वाग्मतीमा पनि मन्त्रालय बाँडफाँटमा जुटेन सहमति 

हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा बिहीवार पनि सहमति जुटेन। केन्द्रीय सरकारमा झै भागबण्डा नमिलेपछि दुई पटक बस्ने भनिएको कार्यदलको बैठक अनौपचारिक छलफलमा सीमित भयो। भागबन्डा टुंग्याउन बनेको कार्यदलको बैठकमा नेकपा एकीकृत समाजवादी अनुपस्थित भएपछि बिहानका लागि डाकिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। तर , ३ बजेको बैठकमा पनि नेकपा एस अनुपस्थित भएपछि अनौपचारिक छलफल गरेर सकिएको बताइएको छ।    

अनौपचारिक बैठकमा कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री, मुख्य सचेतक रत्न ढकाल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रराज बज्रचार्य उपस्थित थिए। अनौपचारिक बैठकले समाजवदीलाई बैठकमा आउन आह्वान गरे पनि उपस्थित नभएको बैठकमा सहभागी हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए। बज्रचार्यले भने , ‘आज बोलाइएको दुईपटकको बैठमा नेकपा एसका सांसद उपस्थित नहुँदा बैठकले कुनै निर्णय लिन सकेन, उहाँहरुले केन्द्रको छलफल गरेर मात्रै बैठक बस्ने भन्नु भएको छ।’ उनका अनुसार कार्यदलको बैठक भोलि बिहान बस्ने निर्णय भएको छ। 

वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन मंगलवार कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ। कार्यदलको नेतृत्व कांग्रेस वाग्मती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य रहेका छन्। उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन्। त्यस्तै, समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन्। वाग्मती प्रदेशमा ११ मन्त्रालयमध्ये एकीकृत समाजवादीले ३ वटा मन्त्रालयको दावी गरेको छ भने माओवादी केन्द्र मुख्यमन्त्रीसहित ४, कांग्रेस ६ र हाम्रो नेपाली पार्टीले एउटामा लविङ गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell