PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

खप्तड गोल्डकप: आयोजकलाई हराउँदै थ्री स्टार क्लव फाइनलमा



पहिलोपोस्ट

खप्तड गोल्डकप: आयोजकलाई हराउँदै थ्री स्टार क्लव फाइनलमा

काठमाडौँ: थ्री स्टार क्लबले सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा मनाङ मर्स्याङदी क्लबसँग भेट पक्का गरेको छ। बिहीवार आयोजक टीम सुदूरपश्चिम–११ लाई हराउँदै थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको हो।

धनगढी रंगशालामा बिहीवार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो।

थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।

खेलको ३० औं मिनेटमा पहेलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। थ्री स्टार क्लव १० खेलाडीमा सिमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्।

विक्रम लामाले ८३ औं मिनेटमा हेडरबाट गोल गर्दै थ्री स्टारलाई दोस्रो हाफमा अग्रता दिलाएका थिए। इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याएका थिए।

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए।

थ्री स्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो। सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो। खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान लामा घोषित भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे।

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मर्स्याङदी क्बव प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell