विराटनगर: विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।
बिहीवार शहीद रंगशालामा सम्पन्न खेलमा छिमेकी राष्ट्र भारतको केरलाको क्लब लुका सकरलाई ४ – ० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो।
विजेता विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ। त्यस्तै उपविजेता केरलाले १० लाख १५ हजार प्राप्त गर्यो।
घरेलु टोलीलाई जित दिलाउन अफिज ओलावाले, बिमल घर्तीमगर, मेसुके ओलोमोउ र अभिषेक गुरूङले गोल गरे।
विराटनगर सिटीका अफिज ओलावालेले खेलको सातौं मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। बिमल घर्ती मगरले निकालेको लामो पासलाई अफीजले गरेको उक्त गोलमा पहिलो हाफमा विराटनगर एक गोलले अघि रह्यो।
खेलको ७८ औं मिनेटमा बिमल घर्तिमगरले विराटनगरको अग्रता दोब्बर बनाए। उनले सुजिकीले निकालेको क्रस पासलाई पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए। त्यस्तै, खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी अग्रता फराकिलो बनाए। चौथो गोल इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गरेका थिए।
फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए। उनले नगद ११ हजार पाए। फाइनलमा विधागत रुपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो।
बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए। यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ। हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए। उत्कृष्ट फरवर्ड भारतको चालीज क्युराको, उत्कृष्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, उत्कृष्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए। त्यस्तै उत्कृष्ट डिफेन्डर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए। बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए।