PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'हिरोइन' मात्र बन्न नआएको बताउने शुभेच्छालाई ‘प्रेमा’ चल्नुपर्ने प्रेसर कतिको छ?



लक्ष्मी बलायर

'हिरोइन' मात्र बन्न नआएको बताउने शुभेच्छालाई ‘प्रेमा’ चल्नुपर्ने प्रेसर कतिको छ?

काठमाडौं : सन् २०१२ की मिस नेपाल इन्टरनेशसल हुन् शुभेच्छा खड्का। मोडलिङबाट करियर सुरु गरेकी शुभेच्छाले मिस नेपाल इन्टरनेशनल बनेसँगै मिडियामा समेत काम गरिन्। त्यसपछि उनको मोडलिङ र कार्यक्रम सञ्चालिकाको यात्रा सँगसँगै बढ्न थाल्यो। विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा अभिनय गरिसकेकी शुभेच्छाले २०७५ सादमा ठूलो पर्दामा पाइला टेकिन्। तर, शुभेच्छाको डेब्यू फिल्म ‘रणवीर’ ले बक्सअफिसमा भने खासै व्यापार गर्न सकेन।

पहिलो गाँसमा नै ढुङ्गा लागेता पनि उनी फिल्म क्षेत्रबाट भने टाढा भागिनन्। तिनै शुभेच्छा चारवर्षपछि पुन: सिनेमाहलमा देखिँदैछिन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमा’ आजबाट प्रदर्शन हुँदैछ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा शुभेच्छा प्रेमा पात्रको भूमिकामा छिन्। शहरमा हुर्किएकी शुभेच्छाका लागि निकै फरक छ प्रेमाको ‘क्यारेक्टर’। त्यसैले आफूलाई प्रेमाको चरित्रमा ढाल्न केही समय लागेको बताउँछिन उनी।

‘प्रेमा र मेरो स्वभाव फरक छ। प्रेमा पात्र निकै शान्त र सरल हुन्छिन। सुदूरपश्चिमबाट काठमाडौं आएकी प्रेमा लजालु हुन्छे। जसकारण सुरुमा प्रेमाको लुकदेखि बोल्ने र हिड्ने तरिकामा फिट हुन केही समय लाग्यो। तर, स्क्रिप्ट सुनेदेखि नै प्रेमा क्यारेक्टरमा धेरै होमवर्क गर्नुपर्छ भन्ने मलाई थाहा थियो। जसकारण म प्रेमामा समर्पित भए। धेरै फिल्महरु हेरे। गोबिन्द दाईले पनि भाषादेखि हरेक कुरामा निकै सहयोग गर्नुभयो।’

‘टाइटल’ रोल पाएकी शुभेच्छाका लागि यो फिल्म चल्नुपर्ने दबाव छ। किनकी यस फिल्मको सफलताले शुभेच्छाको फिल्म करियरको आगामी यात्रा तय गर्नेछ। फिल्मको रिलिजको हुँदैगर्दा उत्साहसँगै डर पनि लागिरहेकी सुनाउँछिन उनी।

उनले भनिन, ‘फिल्म रिलिज हुने भनेपछि उत्साह र डर दुबै हुँदो रहेछ। टाइटल रोल हुँदा उत्साहित पनि छु। तर, के होला, कस्तो होला भइरहेको छ। केही फिल्मबाहेक अहिले हलमा एकहप्ता चल्न पनि गाह्रो भइरहेको अवस्था छ। हलसम्म दर्शकहरु पुग्नुहोला कि नहोला? जिम्मेवारका साथै निकै प्रेसर फिल भइरहेको छ।’

मोडलिङ र उद्घोषणमा काम गर्दैगर्दै ठूलो पर्दामा आउन केही समय लाग्यो शुभेच्छालाई। म्युजिक भिडियो र विज्ञापनमा सानो सानो भूमिकामा गरेकी उनलाई पहिला आँट नै आउँदैन्थो।‘फिल्म खेल्दा दर्शकले मलाई अपनाउनु होला कि नहोला? यसै डरका कारण सुरुमा काम गर्न मानिनन् उनले। तर, अन्तत: गोविन्द सिंह भण्डारी निर्देशित ‘रणवीर’ शुभेच्छाको डेब्यू फिल्म बन्न पुग्यो। सोही फिल्ममा काम गरेपछि नै अभिनयप्रतिको मोह जागेको सुनाउँछिन उनी।

‘रणवीरमा काम गरेपछि धेरै कुरा सिक्न पाएँ। साथै फिल्मक्षेत्रका व्यक्तिहरुप्रति निकै इज्जत बढ्यो। पहिले फिल्म हेर्दा कस्तो फिल्म बनाएको होला भनेर फ्याट्ट बोलिदिन्थे। तर, काम गरिसकेपछि कसैले पनि नराम्रो फिल्म बनाउँछु भनेर नबनाउँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन्।

डेब्यू फिल्म असफल भए पनि निराश भइनन् उनी। उल्टै अभिनय प्रशिक्षण लिएपछि मात्रै फिल्ममा काम गर्ने अठोट लिइन उनले। यसबिच उनलाई केही फिल्मको अफर आएको थियो। तर, शुभेच्छाले अभिनय नसिकेर अरु फिल्म नगर्ने सोच बनाइन्। अभिनय सिक्ने हुटहुटीसँगै उनले अनुप बरालसँग तीन महिना ‘एक्टिङ’ सिकिन्।

‘कलाकार भइसकेपछि सबै क्यारेक्टर गर्नुपर्छ। ब्युटीफूल सट दिएर मात्रै अभिनय हुँदैन। कति धेरै भावना देखाउनुपर्छ त्यसको लागि एक्टिङ सिकें। किनकी म निरन्तरता दिनकै लागि यो क्षेत्रमा आएकी हुँ।’

तर, अभिनय कोर्स पुरा गरेको केही महिनापछि विश्वभर कोरोना महामारी फैलियो। जुन समय ताका आफूले सिकेको कुरा देखाउन नपाउँदा उकुसमुकुस हुन्थ्यो उनलाई। तर, कोरोनाको पहिलो लहर कम भएसँगै खड्कालाई फिल्म ‘प्रेमा’ को अफर आयो।

प्रेमाको स्क्रिप्ट मन परेर फिल्ममा काम गर्न राजी भएको शुभेच्छाको भनाई छ।

‘केही स्क्रिप्टहरु आएता पनि चित्त बुझिरहेको थिएन। तर, गोबिन्द दाईले घण्टौ लगाएर स्क्रिप्ट सुनाएपछि मलाई फिल्मको कथा मन पर्‍यो। उहाँ स्टोरी सुनाउँदा नै क्लियर हुनुहुन्थ्यो। रणवीरमा सहकार्य गरिसकेको भएर उहाँसँग काम गर्न सहज लाग्यो। त्यसमाथि फिल्मको टाइटल रोलका लागि अफर आएको भन्दा निकै उत्साहित भएँ,’ उनले सुनाइन्।

केन्द्रीय भूमिका भन्दा फिल्ममा प्रभावशाली भूमिकालाई प्राथमिकतामा राख्ने उनले दाबी गरिन्।

‘मैले कहिले भूमिकाको लम्बाई हेरेर काम गरिन। मैले टाइटल क्यारेक्टर पाएर पनि धेरै स्क्रिप्टमा काम गरेकी छैन। म हिरोइन र चर्चित हुन्छु भन्ने सोचेको भए काम चार/पाँच फिल्ममा काम गरिसकेको हुन्थे होला। पात्र छनोटको विषयमा म पहिले देखि नै सचेत थिए,’उनले भनिन्।

टाइटर क्यारेक्टर टाउकोमा बोकिरहेकी शुभेच्छा ‘प्रेमा’ बाट निकै आशावादी छिन्।

‘यो फिल्म चल्नुपर्छ किनकी फिल्म राम्रो बनेको छ। फिल्मको निर्देशकिय, सिनेमाटोगाफ्री, स्क्रिनप्ले र अभिनय गर्ने तरिकाले दर्शकहरुलाई नयाँ फ्लेभर दिन्छ। उहाँहरुले यो स्वादलाई मन पराउनु हुन्छ जस्तो लाग्छ।’

पछिल्लो समय सोसल तथा कमेडी जनराका फिल्महरु मात्रै बक्सअफिसमा सफल भइरहेका छन। तर, शुभेच्छा भने प्रेमकथा जनरामा बनेको फिल्म प्रेमालाई दर्शकले रुचाउनेमा ढुक्क छिन्।

खड्काले भनिन्, ‘प्रेमकथामा बनेका फिल्म मन पराउने पनि दर्शक हुनुहुन्छ। अडियन्सलाई पनि एउटै खाना मन पर्दैन। उनीहरु फरक फरक स्वादको फिल्म हेर्न चाहन्छन। यस फिल्मले पनि सिनेमाजगतमा फरक स्वाद दिन्छ भन्ने आशा छ। नयाँ कलाकारलाई पनि माया र विश्वास गर्न दर्शकलाई अनुरोध गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell