काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु भएको हो।
यस वर्ष चार लाख ८४ हजार २२७ जनाले एसइई परीक्षा दिँदैछन्। फारम भरेका थिए। परीक्षामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन्। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन्।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरि ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन्। परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
यस्तै, यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्।
यसपटक परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न दिइएको छ। परीक्षा हलभित्रको तस्बिर खिच्न रोक लगाइएको छ।। यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको छ।
परीक्षाको तालिका
एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ।
परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ। चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।
यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ।
यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ। चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।
चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ। चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ।
परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ।