सिमरा : चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ। सिमरा रङ्गशालामा बिहीवार राति भएको खेलमा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा उभिएको हो।
उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको साविक विजेता न्युरोड टिम एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल गरेका थिए।
सिमरा रङ्गशालाको फ्लडलाईटमा एनआरटीलाई दबाबमा राखेको चर्च ब्वाईजका लागि १६ औं मिनटमा ओउसो बेम्पाले पेनाल्टी मार्फत अग्रता दिलाए। आक्रामक मुभ बनाएका चर्च ब्वाईजका रञ्जित पाण्डेलाई एनआरटी कप्तान विक्रम धिमालले डिबक्स भित्र फाउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरे। दुई खेलाडी ‘बिट’ गरिसकेको अवस्थामा चर्चका रञ्जित पाण्डेविरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए।
खेलको ५३ औं मिनटमा गोलरक्षक पुजन होनाको गल्तीका कारण एनआरटी २–० ले पछि पर्यो। डिफेण्डर अजय चौधरीको ‘ब्याकपास’ नियन्त्रणमा लिएर पनि गोलरक्षक पुजनले समयमै क्लिएर नगर्दा त्यसको फाइदा चर्च ब्वाईजले उठायो। चर्च ब्वाइजका रञ्जित पाण्डेले एनआरटीका गोलरक्षक पुजनको खुट्टाबाट बल खोस्दै सहजै गोलमा परिणत गरिदिएका थिए।
करिब सातहजार दर्शकको उपस्थिती रहेको खेलमा दुबै टिमले केहि आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुकेका थिए। खेलको नवौं मिनटमा चर्च ब्वाईजका मिलन राईको प्रहार साइड बारमा लागेर बाहिरिएको थियो। डिबक्स भित्र रञ्जित पाण्डेले दिएको पासमा मिलनको सशक्त प्रहार साइडबारमा लागेर बाहिरिएको थियो।
पहिलो हाफमा एनआरटीलाई पूर्ण दबाबमा राखेको चर्च ब्वाईजले खेलको १२ औं मिनटमा अर्को अवसर गुमायो। मनोज राईको क्रसबलमा रञ्जितको हेडर बल एनआरटीका गोलरक्षक पुजनले ‘पंच’ गरेर क्रसबार माथि पठाए। खेलको ३० औं मिनटमा चर्च ब्वाईजका कमल श्रेष्ठको प्रहार साइडबारमा लागेर बाहिरीयो। खेलको ४६ औं मिनटमा एनआरटीका गोलरक्षक पुजन होनाले चर्च ब्वाईजले पाएको अवसरलाई विफल पारे। कमल श्रेष्ठको कर्नर बलमा रञ्जित पाण्डेको हेडर बल पुजनले दोश्रो पटकको प्रयासमा पञ्च गरेर बाहिर पठाए। गोललाईन नजिकबाट रिवाउण्ड बलमा रञ्जितले उत्कृष्ट हेडर प्रहार गरेका थिए।
खेलको ३३ औं मिनटमा एनआरटीका कप्तान विक्रम धिमालले चर्च ब्वाईजविरुद्ध बराबरीको अवसर खेर फाले। कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामा उत्कृष्ट पास निकालेका थिए तर विक्रमले बल प्रहारका लागि चर्चको रक्षापंक्ती तोड्न सकेनन्।
२-० ले पछि परिसकेको अवस्थामा खेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनटमा चर्चका अफ्रिकी गोलरक्षक प्रिसो बाधक बने । कृतिस रत्न चुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिक निकालेको बलमा अशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यसलगतै ५६ औं मिनटमा एनआरटीले अर्को अवसर गुमायो। कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामै निकालेको पास सञ्जिब बिष्टले सम्हाल्न नसक्दा एनआरटीले पाएको सुनौलो अवसर गुमायो। सञ्जिबले सम्हाल्न नसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाए। खेलको ६० औं मिनटमा एनआरटीका सञ्जिब विष्टले अर्को अवसर गुमाएका थिए।
जितसँगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पासंगको भेट पक्का गरेको छ। शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको छ।