
काठमाडौं : सन् २०१२ देखि रुबिना क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरिरहेकी छिन्। बिहीवार सम्पन्न ललितपुर मेयर कपमा उनले आफ्नो टोलीलाई उपविजेता बनाउन सफल भइन्। उनको टोली अर्थात कोशी प्रदेश।
घरेलु क्रिकेटमा कोशी प्रदेशको पुरुषतर्फको प्रदर्शन जति कमजोर छ, त्यति नै बलियो महिला टोलीको प्रदर्शन छ। अधिकांश प्रतियोगिताहरुमा महिला टोलीले फाइनल खेलेर केहीमा उपाधिसमेत जित्दा पुरुषतर्फ सेमिफाइनल पुग्नै धौधौ छ।
ललितपुर मेयर महिला च्याम्पियनसिप पछि पत्रकारहरुसँग कुराकानी गर्न कप्तान रुबिनालाई संकोच लागिरहेको थियो। मैदानबाट पोस्ट म्याच कन्फरेन्समा आउनु अघि भन्दै थिइन्: 'म आउनु र?', संकोचको कारण एउटै थियो: प्रश्न।
नेपाली महिला टोलीको नेतृत्व रुबिनाले सम्हाल्दै गर्दा अहिलेसम्म जति हुनुपर्ने हो, त्यसहिसाबले स्थिति सुधार हुनसकेको छैन। पूर्वाधार त्यति नै। सेवा सुविधाका हिसाबले पुरुष क्रिकेटरको तुलनामा महिलालाई धेरै कम। र, थौरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता। त्यति भएपछि स्वभाविक छ: प्रश्न पनि फेरिएनन्। एउटै प्रश्नको दशकसम्म के जवाफ दिनु? कति जवाफ दिनु?
'त्यही भएर आजकल अन्तर्वार्ता दिन्न म,' ठूलो हाँसो हाँस्दै रुबिना भन्छिन्,'उत्तरहरु पनि थाह छ। कमजोरीहरु पनि थाह छ।'
उनले समस्या हुँदाहुँदै पनि समाधान भने खोज्न अहिलेसम्म नसकिएको बताइन्।
'कसरी हामीले एडजस्ट गर्ने सबै कुरा बुझ्दा बुझ्दै पनि कोहीकोही बेला त्यो समाधानको बाटोमा जाँदैन रहेछ,' उनी भन्छिन्, 'मुख्य त म्याच एक्स्पेरियन्सको पनि कमी छ। टीयू मैदानमा धेरै पछि खेलियो। हाम्रो त वर्षमा लगभग यही मेयरकप त हो, टीयू मैदानमा हुने। त्यही भएर एडजस्ट गर्न पनि कठिन हुन्छ।'
महिला क्रिकेटमा कोशी प्रदेशका खेलाडीले विभागीय टोलीलाई चुनौती दिँदै आएका छन्। यद्यपि सेवा सुविधाका हिसावले प्रदेश अझै कमजोर रहेको उनको तर्क छ।
'प्रदेशको खेलाडीले सुविधाहरु पाउँदैन। हामीले यो मेयर कप पनि क्याम्प बिना सिधै भेला भएर आउनु पर्छ। त्यसले गर्दा टिम वातावरण नै छैन प्रदेशमा,' उनले भनिन्, 'अभ्यास गरे पनि 'म्याच एक्स्पेरियन्स' भएन भने 'एडजस्ट' गर्न सकिँदैन। हामी पनि यति लामो खेल्दा पनि डर हुन्छ भने नयाँको त त्यही हो।'
के भन्छ क्यान?
समस्याबारे न खेलाडी बेखबर छन्, न क्यान बेखबर छ न त अरु सरोकारवाला नै। त्यसो भए समाधान किन भइरहेको छैन?
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि मेयर कपको समापनका क्रममा नेपाली महिला टोलीले पनि पुरुष प्रतियोगिता पछि सिरिजको प्रयास गरिरहेको बताए।
'प्रायोजकहरुले प्राय काठमाडौं नै खोज्ने, काठमाडौंमा एउटामात्र खेलमैदान भएको अवस्थानमा महिला क्रिकेटको तुलनामा पुरुष क्रिकेटले बढी अवसर पाएको हो कि भन्ने हामीलाई महसुस भएको छ,' कार्यवाहक सचिव पाठकले भने,'यो वास्तविक कुरा हो। तर, हामीले महिला क्रिकेटलाई उपेक्षा गरेका छौं भन्ने होइन। नेपाल क्रिकेट संघ महिला क्रिकेट प्रति पनि उत्तिकै जिम्मेवार छ, सजक छ।'
पाठकले अगाडि भने : अहिले विदेशी खेलाडी नेपाल बोलाएर खेलाउने या नेपाली टोलीलाई बाहिर लगेर खेलाउने लगायत महिला क्रिकेटलाई कसरी व्यस्त बनाउने भनेर काम गरिरहेका छौं।
रुबिनाको चिन्ता
रुबिनाको टोलीमा धेरै नयाँ खेलाडीहरु छन्। उनलाई चिन्ता ती खेलाडीलाई कसरी अघि लैजाने भन्ने पनि छ। सबै समस्याहरुबारे आफूले क्यानलाई अवगत गराइसकेको उनी बताउँछिन्।
'नयाँलाई कसरी अगाडि लैजाने भन्ने कार्यक्रमहरु क्रिकेट संघलाई मेल गरिरहेका छौं। के छ कार्यक्रमलाई लिएर भनेर। म्याचहरुका लागि सकारात्मक रेस्पोन्स दिनुभएको छ,' रुबिना भन्छिन्, 'पुरुष क्रिकेट सकिएपछि सिरिज खेलिन्छ कि भन्ने आश छ।'
महिला क्रिकेटको अवस्था परिवर्तन नहुनुको पछि सन् २०१९ भन्दा अगाडि क्यान निलम्बनको अवस्थामा रहँदाको समयसँग पनि जोडेर हेर्छिन् रुबिना। खेलाडीले मेहेनत गरेर जति भइरहेको छ, त्यो छ। सम्भावना भएर पनि महिला क्रिकेटले उपलब्धि हासिल गर्न सकेको छैन। यही महिना नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एक टेलिभिजन अन्तर्वार्तामा महिला क्रिकेटबारे कुरा गर्दै कसरी क्षमता अनुसारले नेपाली टिम खस्कियो भन्ने बारे चर्चा गरेका थिए।
त्यतिबेला उनले थाइल्याण्ड र नेपालसँगसँगै 'ग्रो' भएको र नेपालले थाइल्याण्डमाथि सहज जित निकाल्ने गरेको सुनाए। तर, पछि थाइल्याण्ड नेपालसँग ‘नेक-टू-नेक’ हुँदै माथि गयो, नेपाल जहाँको त्यहीँ रह्यो। अझ, मल्ललाई त्यसबेला लाग्दथ्यो, नेपाली पुरुष टोलीले भन्दा पहिला महिला टोलीले विश्वकप खेल्छ। तर, पुरुष टोलीले सन् २०१४ मा विश्वकप खेलेर फेरि अर्को विश्वकप छनोट खेल्दैछ। महिला टोलीले भने अहिलेसम्म त्यो अवसर पाएको छैन।
'व्यक्तिगत रुपमा या टिममा जति पनि संघर्ष गरिहेको छ नि त्यसमा हाम्रो मेहेनत छ। हामीले हाम्रो जिउ ज्यान लगाएर जति इन्भेस्ट गर्न सक्छौं, दिएको छौं,' रुबिना भन्छिन्, 'तर, २०१९ मा क्यान आएर जति म्याच भए नि त्यो चाहीँ अगाडि हुनुपर्थ्यो जस्तो लाग्छ। त्यसअघिको ४/५ वर्ष चाहिँ नाश भयो जस्तो लाग्छ। त्यतिबेला न म्याचहरु थिए, केटीहरु त्यतिबेलै विदेशिए।'
क्यानलाई फेरि त्यस्तो नहोस भनेर प्रस्तावहरु पठाएको उनी बताउँछिन्।
'परिषद्को गेममा मात्र फोकस नभएर इन्डिभिजुअल म्याच र महिलाहरुको लिग ल्याउनुहोस भनेको छौं,' उनले भनिन्।
पछिल्लो दशकमा नेपाली महिला क्रिकेटमा धेरै परिवर्तन छैन। न सेवा सुविधामा फड्को मारेको छ, न म्याच एक्सपोजर, न घरेलु प्रतियोगिता नै बढेका छन्। कर्मकाण्डी प्रतियोगितामात्र हुँदा महिला क्रिकेटको स्तर कसरी बढ्छ? अनि फेरि दशक अघिको प्रश्न उही दोहोरिन्छ: महिला क्रिकेट किन माथि गइरहेको छैन?