काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतरले ३ मन्त्रालय नपाएसम्म आफ्नो पक्षबाट नाम नपठाउने निर्णय गरेको छ। गठबन्धनमा ८ मन्त्रालय पाएको कांग्रेसमा डा शेखर कोइराला समूहले ३ मन्त्रालय माग गरेको थियो। तर पार्टी सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ वटा मन्त्रालयमात्र दिने भएपछि नाम नपठाउने निर्णय गरेको हो।
संस्थापनइतरबाट पार्टी उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बु सरकारमा सहभागी हुने चर्चा रहेको छ। 'हामीले सम्मानजनक सहभागिता खोजेका हौ, त्यो नपाएसम्म मन्त्रीको सूची पठाउँदैनौ,' कांग्रेस सहमहामन्त्री जीवन परियारले यसबारे पुष्टि गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ बजेसम्ममा फाइनल नाम दिन गठबन्धनका दलहरुलाई आग्रह गरेका थिए। नियुक्तीपछि मन्त्रीहरुको आजै ३ बजे शपथग्रहणको तयारी रहेको छ। मन्त्रीको नाम फाइलन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस नेताहरुको बैठक जारी छ।