काठमाडौं : नेकपा माओवादी केन्द्रले शक्ति बस्नेतलाई ऊर्जामन्त्री बनाउने निर्णय गरेको जनाइएको छ। पार्टीका उपमहासचिव रहेका बस्नेतलाई शुक्रवार मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
गठबन्धनमा भाग लगाउँदा माओवादीलाई प्रधानमन्त्रीसहित ५ मन्त्रालय परेको बताइएको छ। तर अहिले नै एक राज्यमन्त्रीसहित ६ जना माओवादीबाट सरकारमा छन्।
दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुने बताइएको छ। जसमा नारायणकाजी श्रेष्ठ भौतिकबाट गृहमा जाने र रेखा शर्मा सञ्चारबाट सामान्य प्रशासन मन्त्रालयमा सिफ्ट हुने बताइएको छ। माओवादीबाट सुदन किराती पर्यटन मन्त्री छन् भने अमलला मोदी सामान्य प्रशासन। सुशिला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री रहेकी छन्। शक्ति सहभागी भएसँगै एकजना मन्त्री सरकारबाट आउट हुने बताइएको छ। यसबारे माओवादीले मुख खोलेको छैन।
सुरुमा बस्नेतले गृह मन्त्रालय रोजे पनि पाएनन्। बस्नेत लगातार तीन पटक जाजरकोटबाट संसदमा निर्वाचित भएका हुन्। बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन तथा वातावरणमन्त्री बनेका थिए।
बस्नेतले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने अहिले पीएचडी गर्दैछन्। हेटौंडा महाधिवेशनमा उत्पादन विग्रेडको अवधारणा ल्याएका बस्नेतले एमसीसीको ब्याख्यात्मक टिप्पणीको बीचको बाटो तय गरेर संसदबाट अनुमोदन गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।