PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

अर्थशास्त्रमा पिएचडी गरेका प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’



पहिलोपोस्ट

अर्थशास्त्रमा पिएचडी गरेका प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।

मन्त्री नियुक्त भएपछि महतले छोटो कुराकानी गर्दै निजी क्षेत्रको मनोबल बलियो बनाउने काम गर्ने बताएका छन्।

उनले अर्थतन्त्र समस्या रहेकाले सुधार पहिलो प्राथमिकता रहको बताए।

‘त्यसका लागि निजी क्षेत्रको मनोबल उकास्ने, पुँजी बजारप्रतिको विश्वास बढाउँदै अर्थतन्त्रको संरचनागत सुधारका काम तत्काल अघि बढाउने प्रतिवद्धता गर्दछु,’ उनले भने।

उनले राजस्व प्रशासनमा सुधार गरेर करमैत्री बनाउने पनि बताएका छन्।

डा. महत कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन्। महतलाई १३औं महाधिवेशनपछि देउवाले सहमहामन्त्रीमा मनोनयन गरेका थिए।

त्यसपछि १४औं महाधिवेशनमा देउवा टिमबाट महामन्त्रीमा उनी भिडेका थिए। महामन्त्रीमा पराजित उनलाई देउवाले केही समयमै केन्द्रीय सदस्यमा मनोनित गर्दै प्रवक्ताकोसमेत जिम्मेवारी दिएका थिए।

२०३३ सालमा महाराजगञ्ज कलेजमा नेविसंघको इकाई सभापति भएका उनले २०३५/३६ मा विद्यार्थी आन्दोलनमा ६ महिना जेल सजाय भोगेका थिए।

२०३९ मा नेविसंघको महामन्त्री बनेका उनी बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलनमा आन्दोलन परिचालन समितिको सदस्य रहेर काम गरेका थिए।

अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका महतले इलिनोइसकै उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन्। महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्।

‘मैले अर्थशास्त्रमै पिएचडी गरेको हुँ अमेरिकाबाट। प्रतिस्पर्धामा पढ्न गएको हो,’ महतले केही अगाडि पहिलोपोस्टसँगको भेटमा भनेका थिए।

राजनीतिमा पनि आफ्नो योग्यतामा कुनै कमी नरहेको महतको दाबी छ।

‘मेरो कुरा के भने हामी ४६ साल अघिदेखि नेविसंघको राजनीतिमा छौं। ७ कक्षा पढ्दा जेल गएको। लगातार स्कुल जीवनदेखि देशमा प्रजातन्त्र स्थापनाका लागि जनाधिकार स्थापनाका लागि लड्यालड्यै। पढ्या पनि छु,’ महतले भनेका थिए, ‘पार्टीको पृष्ठभूमि पनि छ। काम गरेर पनि देखाएको छु। उर्जामन्त्री हुँदा होस् या विदेशमन्त्री हुँदा। योग्यताको हिसाबमा कुनै कमी छैन।’

नेपालको आर्थिक विकासको जग हालेको जस उनका दाजु डा. रामशरण महतलाई जाने अर्थविद्हरु बताउँछन्। उनै महतका भाइ प्रकाशशरण २०६१ मा देउवा नेतृत्वको सरकारमा परराष्ट्र राज्यमन्त्री बनेका थिए।

२०६६ मा ऊर्जामन्त्री बनेका उनी २०७३ मा परराष्ट्रमन्त्री बनेका थिए।

ऊर्जामन्त्री रहँदा महतले जगेडामा रहेका कुलमान घिसिङलाई ‘ब्रेक थ्रु’ दिएका थिए। उनै कुलमानका कारण नेपालमा लोडसेडिङ अन्त्य भए पनि उनैलाई नियुक्ति दिएपछि महत भने पार्टीभित्र चर्को घेराबन्दीमा परेका थिए।

अघिल्लो निर्वाचनमा काठमाडौं-५ बाट एमालेका इश्वर पोखरेलसँग चुनाव पराजित भएका उनी त्यसपछि सरकारमा सहभागी हुन पाएनन्। यसपटक नुवाकोटबाट प्रत्यक्षमा निर्वाचन लड्न ‘लबिङ’ गरे पनि गठबन्धनका कारण उनले टिकट पाएनन्। त्यसपछि समानुपातिक सूचीबाट सांसद बनेका हुन्।

महत आफै पनि शासनसत्तामा आएपछि डटेर काम गर्नुपर्ने बताउँछन्।

‘शासनसत्तामा जनताको उत्थान र विकासलाई ध्यानमा राखेर काम गर्नुपर्छ। जनताबाट चुनिएर आएका जनप्रतिनिधिले व्यक्तिगत लाभ पार्टीगत लाभभन्दा माथि उठेर अहिले त युवाहरुको ज्यादा अपेक्षा छ। तत्कालै परिणाम आओस् भन्ने,’ अर्थमन्त्रीमा दाबीबारेको प्रश्नमा महतको जवाफ थियो, ‘हामीले कही कतै पनि चुक्ने छुट हामीलाई छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell