काठमाडौं : अर्थमन्त्रीको सपथ लिएर अर्थ मन्त्रालय पुगेका डा प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन्। महतले केही समय अगाडि मात्र राष्ट्रपति निवास शितल निवास पुगेर सपथ खाएका थिए।
महतलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन निरासालाई आशामा बदल्ने बताएका छन्।
‘हामीले अहिले दिने भनेको आत्मविश्वास हो। त्यसलाई म प्राथमिकतामा राखेर अघि बढ्छु,’ उनले भने।
उनले मुलुक संकटमा रहेकाले अब खर्च गर्दा प्राथमिकताको क्षेत्रमा मात्रै गर्ने स्पष्ट पारे। महतले राजस्व संकलन सन्तोषजनक नभएको बताउँदै लगानी शिथिलता, मूल्यवृद्धि लगायतलाई हेरेर आफूले योजना बनाउने धारणा राखे।
उनले अहिलेको संकट समाधान गर्न लगानी आवश्यक भएको भन्दै लगानी भित्र्याउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहने बताए।