काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन्। यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अदालतले सांसद पद खारेज गरेपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका थिए।
पदभार ग्रहणपछि मन्त्री श्रेष्ठले संविधान र कानुनअनुसार जिम्मेवार भएर लागि पर्ने बताए। आम नागरिकले प्रत्याभूति गर्ने गरी शान्ति सुरक्षाको वातावरण बनाउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएका छन्। त्यस्तै, हरेक नेपाली नागरिकले नागरिकता पाउनु पर्नेमा उनले जोड दिए।
मन्त्री श्रेष्ठको गृह मन्त्रालयमा दोस्रो कार्यकाल हो। १० वर्षअघि श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। तर त्यतिखेर १९ दिन मात्र गृहमन्त्री भएका थिए। उनी २०६८ साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गृहमन्त्री भएका थिए।
राष्ट्रको अहित हुने गरी कुनै पनि काम भए त्यसको विरुद्धमा काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए। त्यस्तै संविधान र परिवर्तनको विरुद्धमा हुने कुनै पनि क्रियाकला हुन नदिन उनले निर्देशन दिएका हुन्।