भाग्यमा भरोसा गर्नेहरुका लागि हातको रेखा जीवनकै ब्लुप्रिन्ट। खुला हत्केलाबाटै सुरु हुन्छ दृश्य। त्यही हातमा आधा जलेको घडी मुठ्ठीभित्र कसिँदै टुङ्गोतिर धकेलिन्छ दृश्यहरु। खुला हत्केला र त्यही हत्केलाभित्र अटाएको घडी अर्थात् समयको विम्बात्मक लेखाजोखाले बताउँछ सेक्रेटस् अफ राधा। राधाको जीवनका सेक्रेटस् खोतल्दै जाँदा अन्य पात्रका केही सेक्रेट खुल्छन्। केही खुल्दैनन्। नखुलेका कथाका पाटाहरुतिर सोच्न बाध्य हुन्छन् हेर्नेहरु।
यसपटक सिनेमा हेर्न बस्दासम्म मलाई थाहा थिएन म कुनै 'ब्ल्याक एन्ड ह्वाइट' नेपाली फिल्म हेर्दैछु। दी सेक्रेट्स अफ राधाको फेस्टिभल भर्सन ब्ल्याक एन्ड ह्वाइटमा पनि तयार पारेका रहेछन् सुवर्ण थापाले। हेरेपछि एकखाले फरक अनुभूति भयो। आमा,परिवर्तन,हिजो आज भोलिले बसाएको जगमा कुमारीको इन्ट्रीसँगै ब्ल्याक एन्ड ह्वाइटको युग सकिन्छ नेपाली सिनेमामा। तर राधाको यो भर्सनले इतिहास होइन वर्तमानलाई फरक हिसाबले प्रस्तुत गरेको छ।
यसलाई ग्रे फिल्म भन्न मिल्छ?
फिल्म हेरेको केही दिनपछि मैले सुवर्णलाई सोधेँ।
'मिल्दैन। मोनोक्रोम। ब्ल्याक एन्ड ह्वाइट नै हो यो।'
सिनेमाका अरु सन्दर्भ पनि सोध्नेछु मैले। सुरु चाहिँ 'ब्ल्याक एन्ड ह्वाइट' किन भन्नेबाटै कुराकानी भयो। ब्ल्याक एन्ड ह्वाइटसँगै सट्सको शैली पनि फरक छ। हत्केला होस् या अनुहार स्टिल सट झै लाग्नेगरी अडिन्छन् केहीबेर।
'सबैभन्दा धेरै नेपाली कस्ट्युम, सेट्स् र अब्जेक्स्ट असाध्यै फ्लासी खालको छ,' सुवर्णले मेरो प्रश्नमाथि जवाफ दिए, 'फिल्म ल्यान्डस्केप होइन, क्यारेक्टर बेस भएकाले मुड र आँखामा केन्द्रितकृत छ। छेउछाउका वस्तुले डिस्ट्र्याक्ट नगरोस् भनेर।'
उनले भने झै दर्शकलाई भाव पढ्न समय मिल्छ। सिउँदोमा सिन्दुरको डोब छ। मेरा लागि त्यो कालो र सेतो रङ एकाएक रातो हुन्छ। एउटा दर्शकका रुपमा मैले ब्ल्याक एन्ड ह्वाइट क्यान्भासमा रङ्गहरुको कल्पना गर्न पाउँछु।
+++
यो फिल्ममा अत्याधिक लाइट र स्याडो देख्न पाइन्छ। फोटोग्राफी भनेकै आखिर प्रकाशलाई कैद गर्नु न हो।
सुवर्ण थापाको शब्दमा सिनेम्याटिक ल्याङ्ग्वेज पनि यही हो। त्यसैले उनी लाइट र स्याडोमा नै खेल्न रुचाउने बताउँछन्।
'जसरी हामी हात मिलाउँदा स्नेहलाई हत्केलाको तातोपन र भाइब्रेसनबाट महसुस गर्छौं त्यसरी नै स्याडोबाट अनुभूतिलाई महसुस गराउन खोजिरहेका हुन्छौं,' सुवर्णले सप्रसंग सुनाए। उनका अनुसार रङ्गिन फिल्ममा पनि यस्तो अनुभूति गराउन यसैगरी सकिन्छ।
क्यारेक्टरको मुडबाट डिस्ट्र्याक्ट नहोस् भन्नका लागि उनले फरकखाले 'सट'हरु रोजे। राधाको जीवनको चरण मोनोक्रोममा छ। अन्तिम सट रङ्गिन छ। त्यसको सेक्रेट्स् के त?त्यो दर्शकलाई नै छाडेका छन् उनले।
मलामीदेखिको फिल्मी करिअरमा सुनगाभा हुँदै राधासम्म आइपुग्दा फरक शैली पस्केका छन् सुवर्णले। हरेक फिल्ममा उनले स्थापित गर्न खोजेका हुन्छन् - डाइरेक्टरको मिडियम हो सिनेमा।
+++
अभाव, वैदेशिक रोजगारी, फिर्ता आएको शव। समकालीन नेपाली समाजको सिंगो क्यान्भासमा अनेकन कथाका मोडहरु छन्। धेरै बाटा हुँदाहुँदै पनि कथा बरालिएको छैन। टर्निङहरु छन् तर बाटो प्रष्ट छ। यद्यपि, राधामा कथालाई जतातिर लैजान पनि सकिने ठाउँहरु भेटिन्छन्। जतातिर लैजाँदा पनि कन्फ्लिक्ट सजिलै उत्पन्न गर्न सकिन्छ।
मेरो प्रश्न थियो - कथा जता लैजान पनि मिल्ने रहेछ। कसरी छिमलियो ती हाँगाबिँगा?
'यही फिल्मको स्क्रिप्ट अरुले पाएको भए फरक हिसाबले गर्थे होलान्। डेस्टिनेसनमा म प्रष्ट थिएँ, तर अल्टरनेट धेरै थिए। एउटा सिनेमामा भन्न खोजेको कुरा एउटा हुन्छ भलै त्यसमा सब स्टोरीजतिसुकै होस्।'
राधाको क्यारेक्टरमाथि फिल्म भएकाले त्यसमा कुनै डिस्ट्र्याक्सन नहोस् भन्नेमा सुवर्ण धेरै नै सचेत रहेछन। त्यसैले सिंगो फिल्ममा मुस्किलै राधा विनाका सर्टस् भेटिन्छन्।
संवाद पनि उस्तै छ। पूरा वाक्य गठनसहितका संवाद बोल्ने पात्रहरु नेपाली सिनेमाका विशेषता हुन्। भलै म आफैँ बोल्दा व्याकरणसहित शुद्ध रुपमा सक्दिन। र, कमै सुन्ने गर्छु त्यस्ता संवाद।
राधामा मौनता धेरै छ। मौनता नै चर्को आवाज लाग्छ कतिपय अवस्थामा। दृश्यले नै कथा भन्छ भने बोली चाहियो नै किन?तर अधिकांश नेपाली फिल्ममा शब्दको भारीले नै थिच्लाजस्तो हुन्छ।
नेपाली सिनेमामा किन भारीभरकम शब्द र वाक्यहरु हुन्छ?
सुवर्णले जे जवाफ दिए त्यो मेरा लागि रोचक रह्यो।
'नेपाली कमर्सियल फिल्ममा हामी टेलिभिजनबाट आयौं। टेलिभिजनमा डायलग बढी हुन्छ। टेलिफिल्म र फिल्म खिच्ने तरिका फरक हुनुपर्छ। किनकि सिनेमा खिच्न टाइम लाग्छ। त्यसैले सिनेमा बुझेका मानिसहरुले कतिपय फिल्मलाई टेलिफिल्मजस्तो भन्नुको कारण यही हो,' उनले भने।
+++
एउटै फिल्मलाई किन रङ्गिन र ब्ल्याक एन्ड ह्वाइट दुईवटा फर्म्याट त?
'यसको कारण छ। हिन्दु परम्परामा महिलाले सिन्दुर लगाउँछे भन्ने नेपाल र भारतमा थाहा हुन्छ। चुराको रङको कुरा पनि त्यस्तै हो। इन्टरनेसनल अडियन्सका लागि यहाँको कल्चर बुझाउन कलरमै देखाउनुपर्ने हुन्छ। किनकि ब्ल्याक एन्ड ह्वाइटमा सिउँदोको रङ रातो भन्ने युरोपियन र अमेरिकनले बुझ्दैनन्।'
त्यसो त ब्ल्याक एन्ड ह्वाइटमात्र बनाएर उनले जोखिम लिन चाहेनन्। सबै दर्शकको एकैखाले रुची हुँदैन। त्यसैले दर्शक लक्षित हुँदा उनले दुईवटा भर्सन तयार पारेको सुनाए। दुवै भर्सन चलाउन सकिने अप्सन त रह्यो नै।
छिट्टै उनी अमेरिकी डायस्पोरामा जाने तयारीमा छन्। त्यहाँ नेपाली भर्सनको लामो फिल्म देखाउने उनको योजना छ।
मैले हेरेको राधामा तीजको गीतमा कम्मर मर्काइरहेकी राधा गायव। गीत नै कटाएका रहेछन् निर्देशकले। सफ्ट छ साउन्ड। ब्ल्याक एन्ड ह्वाइटमा जसरी म्युजिकको प्रयोग भएको छ रङ्गिनमा फरक रुपमा गरिएको सुवर्णले सुनाए। उनका अनुसार राधाको कलर भर्सनमा म्युजिकले ड्र्याग गरेर ब्याग्राउन्ड स्कोर इन्ह्यान्स गरिएको छ। ड्रामाटिक मुभमेन्टमा म्युजिकले हाइलाइट गरेको छ। फिल्मको सबै काम नेपालमा नै गरे पनि म्युजिकको काम चाहिँ उनले पेरिसमै गरेका हुन्। ब्याकग्राउन्ड म्युजिकलाई उनी कथा बताउने बलियो आधार मान्छन्।
'बलिउडको केजीएफ फिल्म साउन्डकै कारण सफल छ। साउन्डविना त्यसलाई हेरौं त केही पनि लाग्दैन। म्युजिकले गाइड गरेको छ त्यसलाई,' सुवर्णले भने।
त्यसो त विगतमा सिनेमालाई भिजुअल र साउन्डका रुपमा बुझिन्थ्यो। आज, त्यतिमै निर्देशकहरु नअड्किएको सुवर्णको बुझाइ छ। फिल्मलाई मनोरञ्जनको वस्तुका रुपमा ट्रिट गर्नेहरु अहिले मुलधारमा छन्।
फेस्टिभल लक्षित गरेकाले उनले राधाको यस भर्सनलाई १५ मिनेट छोटो बनाएका छन्। त्यसैले कथाका अन्य पाटोहरुलाई उनले छिमलेका छन्। राधाका सेक्रेट्स् खुलाउँदै जाँदा केही अनुत्तरित प्रश्नहरु पक्कै पनि पैदा हुन्छ।
'एडिटिङमा सिनहरु चपचप काटियो। खगेन्द्र लामिछानेको विगत यसमा छैन। उनको कथाको न्यारेसन नेपाली भर्सनमा छ,' उनले सुनाए।
युट्युब चलाउने युवकको भूमिकामा रहेका खगेन्द्रले किन सघाए त श्रृष्टिलाई? मैले हेरेको भर्सनमा त्यतातिरको कथा छैन। सहकारीमा ऋण दिलाउन साक्षी बसेका मित हकदावी गर्न काठमाडौं आएको कथा पनि काटिएको रहेछ।
सुवर्णको भनाइमा नेपालीलाई मन पर्ने थुप्रै सिनहरु ब्ल्याक एन्ड ह्वाइटमा छैन। नहुँदा पनि मेरा लागि अपूरो अनुभूति नै भएन। किनकि सार्प कट हुँदा केही छुट्यो भन्ने अनुभूति हुन्छ। फिल्म छोट्याउँदा कतै छुटेको अनुभूति नहुनुको अर्थ हो राम्रो एडिटिङ।
'एडिटिङ पनि उतै (पेरिस) गरेको हो?'
'होइन। नेपालमा नै गरेको।'
मलाई लाग्यो उतै गरेको हो। सुवर्णले उतै गरेको भए फिल्म अझ फरक देखिनसक्ने सुनाए। लागत कटौतीका लागि पनि उनले यतै फिल्म सम्पादन गराए। कुनै फिल्ममा सम्पादनको महत्त्वपूर्ण स्थान रहन्छ। किनकि फाइनल फिल्म भनेकै एडिटिङ हो। सुवर्णको शब्दमा - फाइलन फिल्म राइटिङ भनेकै एडिटिङ हो।
म्युजिक र साउन्डको कामबाहेक सबै यता सक्काए उनले।
'दुईवटा एडिटरबाट काम गरियो। उनीहरुले उतै गर्नुस् भन्थे। मैले एडिटरलाई सोच्न र राम्रो गर्न भनेँ,' सुवर्णले सुनाए।
सबै निर्देशकले यसरी स्वतन्त्रता दिँदैनन्। कतिपयले त यसलाई पूर्ण प्राविधिक काममात्र बुझ्छन्। तिनले तर्क गर्दैनन् या कमजोर गर्छन्। सुवर्ण सिनेमाटोग्राफर र एडिटर सबैबाट काम लिनपर्ने ठान्छन्। त्यसैले उनीहरुको 'क्रियटिभिटी'फिल्ममा उतार्न खोज्छन्।
'म चाहिँ कसैबाट आइडिया आवस्। फरक एस्पेक्ट आवस् भन्ने लाग्छ। मैले दुईवटा एडिटरबाट काम लिएँ यसमा,' उनले भने।
श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत। सबै एक से एक। नेपाली सिनेमा र नाटकका यस्ता हस्तीहरु एकै ठाउँमा छन्।
थिएटर र सिनेमाका स्टारहरु सानो रोलमा कसरी?
प्रश्न झर्न नपाउँदै सुवर्णले जवाफ दिए – उहाँहरु सबैले सघाउनु भएको हो।
फिल्मका एक निर्माता सौगात मल्ल पनि हुन्। थिएटर र सिनेमासँग उनको कनेक्सनले पनि यसमा साथ दियो।
+++
दी सेक्रेटस् अफ राधा यसअघि नै सिनेमा हलमा रिलिज भएको हो। फिल्मले सुरुदेखि नै राम्रो सो पाएन। मेरो सूचीमा रहेको यो फिल्म हेर्न मैले अनुकूल समय मिलाउन सकिनँ। केही दिनमै सुवर्ण र उनको टिमले फिल्म हलबाट उतार्ने निर्णय गर्यो।
हलबाट फिल्म झिक्नुको कारण फिल्म अमूर्त होला, बुझेनन् भन्ने थियो। पढेका निर्देशक एब्स्ट्र्याक्ट कथा पस्किन्छन्। फिल्म चल्दैन। अनि दर्शकको चेतनास्तरमाथि प्रश्न गर्छन्। यसमा पनि त्यस्तै केही होला कि भन्ने थियो। तर फिल्म मैले सोचेभन्दा फरक। पर्याप्त आर्ट भ्यालु र क्लिअर कट स्टोरी। तर सेक्रेट्रस् हरु फरक रहेछन् रङ्गिन र ब्ल्याक एन्ड ह्वाइटमा। म अर्को कुनै अवसरको प्रतीक्षामा छु जहाँ मैले राधाका सेक्रेट्स् पर्दामा रङ्गिन देख्नेछु।