PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा : नेपाली सामान पनि निर्यात



पहिलोपोस्ट

रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा : नेपाली सामान पनि निर्यात
फोटो : चिनियाँ दूतावास।

काठमाडौं : रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी नाकामा शनिवारबाट दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आएको जनाएको छ।

रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई चिनियाँ पक्षले स्वागतसमेत गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘यसले द्विपक्षीय सहयोग र जनताबिचको आदानप्रदानलाई अझ गहिरो बनाउने हामी विश्वास लिएका छौँ।’

 

यसअघि चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी नाका संचालनमा ल्याइएको थियो। सरकारका प्रतिनिधि तथा राजनीतिक नेताहरुले नाका दुईतर्फी रुपमा खुलाउन पहल गर्दै आएका थिए। यो नाकामा एक प्रकारको अघोषित नाकाबन्दी नै भएको धेरैको बुझाइ थियो।

नाका पूर्ण रुपमा खुलेसँगै नेपालीहरुलाई पनि आउजाउमा सहज हुने रसुवास्थित पत्रकार दीपक थोक्राले बताए। आजै पनि केही नेपाली सामानहरु चीनतर्फ निकासी भएको थोक्राले जानकारी दिए। 'आज आउजाउ खुलेसँगै नेपाली व्यापारीहरुले केही सामान पनि चीनतर्फ निकासी भएका छन्,' उनले भने। 

यो नाका कोभिड - १९ को महामारी फैलिएसँगै २०७७ जेठ २१ गतेसम्म पूर्ण रुपमा बन्द थियो। २०७७ जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइएको थियो।

त्यस बिचमा पनि पटक-पटक नाका बन्द भयो। नियमित रुपमा नाका सञ्चालन हुँदा यो नाकाबाट दैनिक सयभन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell