PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अंग्रेजीमा आयो 'श्रमाटन' : वैदेशिक रोजगारको अवस्थाबारे चर्चा



पहिलोपोस्ट

अंग्रेजीमा आयो 'श्रमाटन' : वैदेशिक रोजगारको अवस्थाबारे चर्चा

काठमाडौं : बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ अंग्रेजी संस्करण शनिवार सार्वजनिक भएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकारहरु श्यामल, सरु जोशी, युयुत्सु आरडी शर्मालगायतले कृति संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

निराला पब्लिकेसन्स्ले अंग्रेजीमा ल्याएको यस किताबमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारेको विवरण छ। साहित्यकार अरुण बुढाथोकीले अनुवाद गरेको यात्रा संस्मरणको यो किताब अमेजनबाट किन्न सकिने प्रकाशकले जनाएको छ।

वैदेशिक रोजगारको अवस्थाबारे चर्चा

कार्यक्रममा वक्ताहरुले नेपालको वैदेशिक रोजगारको अवस्थाबारे चर्चासमेत गरे। निराला पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु शर्माले यस्ता साहित्यलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे। 'हामीले यस्ता साहित्यलाई प्रेरणा दिनुपर्छ।  प्रोत्साहन गर्नुपर्छ। अनुवादलाई पनि,' शर्माले भने।

साहित्यकार श्यामलले राज्यले रोजगार सिर्जना नगरेर अवैध रुपमा विदेश जान विवश बनाइरहेको विषयलाई उजागर गरे। उनले नेपाली नागरिकलाई अपराधी बनाउन राज्य नै लागिपरेको आरोपसमेत लगाए।

'राज्य जनतालाई अपराधी बनाउन उद्दत छ। लुकेर विदेश गइरहनु परेको छ। हामीले चुनेर पठाएका नेताहरुले के गर्ला?' श्यामलको प्रश्न थियो। उनले किताबमा विदेश जाँदाका दु:खका फेहरिस्त भएको उल्लेख गर्दै संसदमा यस विषयमा छलफल गर्नसमेत कांग्रेस महामन्त्री शर्मालाई आग्रह गरे।

'संस्मरण बढीजसो झुटको पुलिन्द हुन्छन्। तर यसमा सत्य र समर्थ्व के छ भने नक्कली जलप लगाएका छैनन्। दुख र सुखलाई फेहरिस्त प्रस्तुत गरेका छन्,' श्यामलले भने, 'संसदमा यो किताबबारे छलफल होस्।'

वैदेशिक रोजगारमा अवैधानिक रुपमा जानेहरुको मरण कारुणिक हुने उल्लेख गर्दै यस विषयमा सरकारले सम्बोधन गर्नुपर्ने माग सरु जोशीको थियो। खाडीको यात्राले आफूलाई पनि साहित्यकार बनाएको उल्लेख गर्दै सरु जोशीले भनिन्, 'ट्रलीमा फेरि फेटौला, नेपालको झन्डा पोतिएका भेटिए। नेपालका एम्बसडर त तिनीहरु पो रहेछ।'

सरकारले वैदेशिक रोजगारीमा पठाएकालाई मतदानको अधिकार नदिएकोसमेत उनको भनाई रह्यो। 'सरकार हराएको छ अहिले। माइग्रेन्ट वर्करलाई मतदान अधिकार छैन,' उनले भनिन्। लेखक बीएन किताबमार्फत श्रमिकको नेता भएकोसमेत सरु जोशीको भनाई थियो।

लेखक बीएन जोशीले किताब यहाँसम्म आइपुग्नुमा सबैको योगदान रहेको उल्लेख गर्दै धन्यवाद दिए। '२५ वर्ष अघिको घटना हो। अहिले कल्पनाजस्तो लाग्छ आफैलाई तर सत्य हो। अब इतिहास पनि बन्ला,' लेखक जोशीले भने।

बाहिर रोजगारीको ढोका खोल्नु राज्यको दायित्व हो : शर्मा

कार्यक्रमको अन्त्यमा कांग्रेस महामन्त्री शर्माले वैदेशिक रोजगारीमा जानेको बेथा अहिले पनि उस्तै रहेको बताए। 'बेथा फरक छैन। खाडी जानेको श्रमाटान हो यो। अहिले अफ्रिकादेखि युरोप अमेरिका जानेको कथा अर्को चलिरहेको छ,' शर्माले भने।

तर वैदेशिक रोजगारीकै कारण देशले सास फेरिरहेकोसमेत उनको भनाई थियो। आफूले ऐना कार्यक्रममार्फत टेलिभिजनबाट वैदेशिक रोजगारको अध्याँरो पाटो केलाउने प्रयास गरेको स्मरण गर्दै वैदेशिक रोजगार अहिलेको आवश्यकता भएको धारणा राखे।

'संसारमा कुनै देश छैन जुन देशका नागरिक बाहिर देशमा जादैनन्,' शर्माले भने, 'नेपालबाट बाहिर जानू ठूलो कुरा होइन। अमेरिकीहरु पनि वैदेशिक रोजगारमा जन्छन्।' प्रजातन्त्रपछि रोजगारीका बाटोहरु खुलेको उल्लेख गर्दै नेपाल सबल नभएसम्म बिदेशमा रोजगारीको बाटो खोल्नु राज्यको दायित्व भएको उनको भनाई थियो। 'पहिले बन्द समाज थियो। ४६ सालपछि विकास भित्रियो गाउँमा। त्यसपछि रोजगारी भित्रियो। श्रमबजारमा अहिले प्रत्येक वर्ष ५ लाख थपिन्छन्,' शर्माले भने, 'नेपालमा रोजगारीको ग्यारेन्टी नभएसम्म बाहिर रोजगारीको ढोका खोल्नु राज्यको दायित्व हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell