काठमाडौं : मञ्चमा देखिन्छिन् एक युवती। ‘मलाई त चिन्नु भएन होला? तर फरक पर्दैन। म आज तपाईहरुलाई कथा सुनाउँन आएकी छु,' आउनेवित्तिकै ती युवतीलाई कथा सुनाउँन हतार हुन्छ, 'यो कथा तपाई र हामीभन्दा धेरै टाढा, पुरानो एकादेशको तीन भिक्षुहरुको कथा हो। उनीहरुको यात्राको कथा हो। ध्यान दिएर सुन्नुहोस है त?'
लगत्तै स्टेज छाड्छिन्। मञ्चमा देखिन्छन् डोरीमा झुन्डिन तयार दुई युवा। एक धनी, अर्को गरीब। दुबै जीवनदेखि सन्तृष्ट छैनन्। डोरीलाई समस्याको समाधान सोचिरहेका छन् दुबैले। जीवनमा अनेक प्रयास गर्दा पनि खुसी नमिलेपछि निराशतालाई मेट्ने बाटो नै आत्महत्या हो भन्ने बुझाइमा पुगेका देखिन्छन् दुबै जना।
यही क्रममा एक युवक पछि सर्छन्। र अर्कोलाई बचाउन पुग्छन्। ‘मर्न नदिएर किन बचाएको?’ जो बचाउने प्रयासमा लागेका थिए, उनैले कुटाई खान्छन्।
सोही क्रममा सुरिलो भाका हाल्दै मञ्चमा देखा पर्छिन् बौद्ध भिक्षु। युवकहरु देखेर अट्टहास चल्छ उनको। ताली बजाउँदै नाच्न थाल्छिन्। यो देखेर युवकहरु चुरचुर हुन्छन् रिसले। गाली गर्न थाल्छन्। ‘दु:ख छ, कारण छ, निवारण हुन्छ, निवारणको मार्ग छ,’ युवती भने मुस्कुराउँदै भन्न थाल्छिन्।
त्यसपछि आत्महत्या गर्न लागेका युवक भिक्षुको बाटो पछ्याउँछन्। गौतम बुद्धको विचारमा समर्पित भएर उनीहरु नयाँ जीवनको यात्रा तय गर्छन्। बुद्धका तीन भिक्षुहरुको अन्य व्यक्तिहरुमा पार्ने प्रभावको कथा समेटेको नाटक ‘थ्री लाफिङ मंक्स’ को दृश्य हो यो।
नाटक सांस्कृतिक संस्थानमा चलेको ‘बुद्ध थिएटर फेस्टिभल’ मा मञ्चन भएको थियो। प्रशान्त बाग्लेको लेखन तथा निर्देशन रहेको यस नाटकले बुद्धको दर्शन र विचारलाई अघि सार्छ। बुद्धको विचार र दर्शनले जीवनमा ल्याउने सकरात्मक परिवर्तनको कथा बोकेको छ नाटकले।
नाटकलाई नाचघरकै विभिन्न ब्याचका विद्यार्थीहरुले तयार पारे। नाटकमा बाग्लेका साथै लीलादेवी ओझा, निशान खत्री, प्रकाश थापा, चन्द्रा कुमारी सरु मगर, तीर्थराज भट्ट, भेगबहादुर पहारी, प्रशान्त बाग्ले, होम मिश्रा, राम पुरी, नरहरी पराजुली लगायतका कलाकारहरुको अभिनय छ।
मानिसहरुलाई जीवन जिउने कला सिकाउनु नाटकको सुन्दर पक्ष हो। संसार परिवर्तनशील छ। जो आज छ, त्यो भोलि हामीसँग रहदैन। जीवन एक चक्र हो। जुन चक्रमा हामीले मृत्युलाई पनि सहजै स्विकार गर्नुपर्छ। किनकी जन्मसँगै मृत्यु, विकाससँग ह्रास र मिलनसँग विछोड सँगसँगै जोडिएको हुन्छ। सत्यलाई स्विकार गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरु नाटकभित्र अटाएका छन्।
भौतिक सुख प्राप्तिको लागि मानिसहरु दौडिरहेका छन्। उनीहरु भौतिकवादी संसारमा यति डुबे की आफूलाई नै बिर्सिरहेका छन्। आफूलाई समय दिन नपाएको कुरा, महत्त्वकांक्षी हुँदा मानवले मानवलाई नै गर्ने तुच्छ व्यवहार र पैसाले प्रेम र खुसी नमिल्ने कुरामाथि नाटकले व्यङ्ग्य कस्छ।
नाटकमा बढ्दो मानसिक समस्यालाई विषयलाई पनि उठान गरिएको छ। कसरी मानिसहरु मानसिक समस्याको सिकार हुन्छन्? डिप्रेसनमा पर्दा आत्महत्या गर्नेदेखि त्यसबाट बाहिर निस्कन अपनाउनु पर्ने जीवनशैलीलाई नाटकले समेटेको छ।
नाटकले मानिसहरुलाई विगत र भविष्यमा बारेमा सोच्नुभन्दा वर्तमानमा रमाउने कुरामा जोड दिन्छ। क्रोधलाई प्रेमले, पापलाई सदाचारले, लोभलाई दानले, झुटलाई सत्यले सधैँ जित्न सकिन्छ भन्ने नाटकको सार हो। मानवसँग सम्बन्धित धेरै विषयवस्तु उठाए पनि नाटकको जोड छ - महासय! हास्न चाँहि छोड्नु हुन्न है।