PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबलाई, मनाङ फाइनलमा पराजित



पहिलोपोस्ट

खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबलाई, मनाङ फाइनलमा पराजित

काठमाडौँ:  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बिक्रम लामा र अनिल महर्जनको गोलमा थ्रीस्टारले उपाधि जितेको हो।

खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा बिक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए। उनले १० हजार पुरस्कार पाए।

च्याम्पियन थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ। विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चश्व रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान बिक्रम लामा बने। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए। यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहँदा उत्कृस्ट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे।

उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए। विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell