वीरगंजः मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ। वीरगंजको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सालाई १-० ले पराजित गर्दै बाराले उपाधि उचालेको हो। पहिलो हाफको ३८औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। पहिलो हाफमा १-० ले पछि परेको पर्साले दोस्रो हाफमा भने प्रदर्शन केही सुधार गरेको थियो।
उपाधिसँगै बाराले नगद १ लाख ५० हजारसँगै ट्रफी हात पारेको थियो। उपविजेता पर्साले नगद ७५ हजारमै चित्त बुझाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्साका कार्लोस पटेल घोषित भए। यस्तै उत्कृष्ट स्टाइकर पर्साकै सुजल डंगोल, उत्कृष्ट मिडफिल्डर पर्साकै कृष्ण शाक्य घोषित भए। उत्कृष्ट गोलरक्षक बाराका दिलमणि चौधरी घोषित भए।
प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका आठ टिम सहभागी थिए।