इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले दिल्ली क्यापिटल्सलाई हराएको छ। लखनउस्थित अल बिहारी बाजपेयी एकाना स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लखनउले दिल्लीमाथि ५० रनको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको लखनउलाई ओपनर केल मेयेर्सले ७३ रनको अर्धशतकीय इन्निङ्स खेल्दै राम्रो सुरुवात दिलाए। त्यस्तै निकोलस पुरनले ३६ रन बनाउँदा आयुस बडोनीले १८, दीपक हुडाले १७ तथा मार्कस स्टोइनिसले १२ रन बनाए। क्रुणाल पाण्ड्या १५ रनमा अविजित रहँदा कृष्णप्पा गोउतम ६ रनमा अविजित रहे।
बलिङतर्फ दिल्लीका खलिल अहमेद र चेतन साकारियाले समान २ विकेट लिँदा अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको डेभिड वार्नरबाहेकका ब्याट्सम्यानको प्रदर्शन उच्च हुन सकेन। वार्नरले अर्धशतकीय इन्निङ्स खेल्दै सर्वाधिक ५६ रन बनाउँदा रिली रोसोउले ३६ रन बनाए। त्यस्तै पृथ्बी शले १२ र अक्षर पटेलले १६ रन बनाए।
बलिङतर्फ लखनउका मार्क वुडले सर्वाधिक ५ विकेट लिँदा आवेश खान र रबि विश्नोइले समान २/२ विकेट लिए।
शनिवार नै सम्पन्न पहिलो खेलमा पञ्जाब किंग्सले कोलकत्ता नाइट राइडर्समाथि डिएलएस मेथडबाट ७ रनको जित निकालेको थियो।