काठमाडौं : आज प्रतिनधिसभा बैठक बस्दैछ। बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने सम्भावित कार्यक्रम रहेको छ। आजै यो प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ माथि दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिनेछ।
छलफलपछि केसीले ‘प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
सभामुखको अधिकार कटौतीबाट पछि हट्यो गठबन्धन
प्रतिनिधिसभा नियमावलीमा दलहरुले सहमति जुटाइसकेका छन्। सभामुखको अधिकार कटौती गर्नेगरी सत्तारुढ दलका सांसदहरुले संशोधन दर्ता गरेपछि रोकिएको प्रक्रिया राजनीतिक सहमतिमा अघि बढाउन लागिएको हो।
दलहरुबिच प्रस्तावित नियमावलीको नियम १३ मा सत्तारुढ सांसदले दर्ता गरेका प्रस्तावलाई संशोधन गर्ने सहमति भएको हो। सहमतिअनुसार सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा काम कारबाही गर्नेको सट्टा कार्यव्यवस्थाको परामर्शलाई नियमित बनाउने सहमति भएको हो।
यस्तै, सहमति अनुसार संसदका महासचिव र सचिवलाई पदाधिकारीबाट हटाइने छ।
प्रस्तावित नियमावलीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई निरन्तरता दिइएको छ। यस्तै, शून्य र विशेष समयमा उठाइएका विषयमा जवाफ दिने समय तोकिएको छ।
महाभियोगको प्रस्तावलाई पाँच महिनाभित्र टुंगोमा पुर्याउनुपर्ने प्रस्तावित मस्यौदामा उल्लेख छ।
स्वार्थ जोडिएको विषयमा निर्णय प्रक्रियामा सहभागी हुन नपाइने, सभाको क्यालेन्डर बनाइ लागू गर्न सक्नेलगायतका विषयलाई पनि प्रस्तावित नियमावलीमा समेटिएको छ।
मस्यौदालाई आज संशोधनसहितको छलफलका लागि प्रतिनिधि सभामा पेश गरिनेछ। सभामा पेश भई छलफलपछि सहमति अनुसारका विषयलाई स्वीकार गरेर पारितको सहमति दलहरुबिच भएको छ।