PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

पहिलो पटक विश्वकप पुगेको भियतनामसँग नेपालको प्रतिस्पर्धा!



पहिलोपोस्ट

पहिलो पटक विश्वकप पुगेको भियतनामसँग नेपालको प्रतिस्पर्धा!
Photo: Vietnam Football Federation

काठमाडौं : यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट खेल्दैछन्।

जसअन्तर्गत विश्वकपको तयारीमा रहेको भियतनामको टोली नेपाल आउँदैछ। चैत २२ र २५ गते नेपाल र भियतनामबिच दशरथ रंगशालामा खेल हुनेछ।

पहिलो पटक फिफा विश्वकपमा पुगेको टोली भियतनामसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोट नेपाल र भियतनामले मात्र खेल्नेछन्। भियतनामको टोली २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

भियतनामसँगको खेलका लागि नेपालको २२ सदस्यीय टोली घोषणा गरिसकेको छ।

नेपाली टोलीले चैत २२ र २५ गते भियतनामसँग दशरथ रंगशालामा खेल खेल्दैछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाली टोली फिफा वरीयतामा १००औँ स्थानमा छ भने भियतनाम ३३औँ स्थानमा छ। कुनै समय २८औँ वरीयतासम्म पुगेको भियतनाम बलियो टोली हो। अर्थात वरीयताका हिसाबले एसियाली राष्ट्रहरुमध्ये भियतनाम हाल शीर्ष पाँचमा छ।

समूह ‘सी’का प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो। प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेड मार्केटिङ र ब्रोडकास्टिङको अधिकार पाएको एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत ४३ लाख रहेको छ। खेलहरुका लागि टिकट दर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ

मिडफिल्डर : रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell