काठमाडौं : नेपाली कांग्रेसले बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतवार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। 'हामीले बारा २ को उप निर्वाचनमा उपेन्द्र यादवलाई सघाउने निर्णय भएको छ,' बैठकपछि सहमहामन्त्री पाण्डेले भने।
बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका छन्। कुशवाहा उक्त क्षेत्रमा रामसहायप्रसाद यादवसँग पराजित उम्मेदवार हुन्। रामसहाय उपराष्ट्रपति बनेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो। रामसहायसँग प्रतिस्पर्धामा कुशवाहा माओवादीबाट उम्मेदवार थिए। गठबन्धनले उपेन्द्रलाई सघाउने भएपछि कुशवाहा जनमत प्रवेश गरेका हुन्।
यस क्षेत्रबाट उपेन्द्रलाई जसरी पनि हराउने मिसनमा सीके राउतसमेत चुनावी मैदानमा उत्रिसकेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल यस क्षेत्रमा उम्मेदवार बनेका छन्। उपनिर्वाचन वैशाख १० गतेका लागि तोकिएको छ।