PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

स्वर्णिम वाग्ले उम्मेद्वार रहेको क्षेत्रमा कांग्रेसले गगन थापा खटाउने, चितवन २ मा विश्वप्रकाश



पहिलोपोस्ट

स्वर्णिम वाग्ले उम्मेद्वार रहेको क्षेत्रमा कांग्रेसले गगन थापा खटाउने, चितवन २ मा विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसले उपनिर्वाचनमा आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटाउने तयारी गरेको छ। कांग्रेसले उप निर्वाचनमा तनहुँ १ र चितवन २ मा आफ्नो उम्मेद्वार तय गरिसकेको छ। तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार रहेका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई जिताउन कांग्रेसले गोविन्दराज जोशीको कारवाहीसमेत फुकुवा गरिसकेको छ।

उक्त क्षेत्रमा उम्मेदवारी मनोनयन गर्न महामन्त्री गगन थापा पुग्ने कार्यतालिका रहेको छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले हालै कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। स्वर्णिम हालै सम्पन्न निर्वाचनमा गगनको पक्षमा खुलेर लागेका नेता हुन्। कांग्रेस सभापति पत्नी आरजु देउवाको हेपाहा प्रवृत्तिका कारण आफू पार्टीमा बस्न नसकेको भन्दै वाग्लेले कांग्रेस छाडेका थिए। यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुने भएको हो।

यता चितवन २ मा भने कांग्रेसले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाउने भएको छ। यहाँ कांग्रेसले चितवनका पूर्व जिल्ला सभापतिसमेत रहेका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। रास्वपाका अध्यक्ष रवि लामिछाने निर्वाचित भएको यस क्षेत्रमा नागरिकता मुद्दाका कारण उनको सांसद पद गएसँगै उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा लामिछाने नै उम्मेदवार बनेका छन्। यसअघि दुई महामन्त्रीले आफूहरुलाई पार्टी सभापतिले कुनै जिम्मेवारी नदिएको गुनासो गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell