PahiloPost

Jul 3, 2024 | २० असार २०८१

'प्रसाद २' को प्रचारमा मुख्य कलाकारकै छैन साथ!



पहिलोपोस्ट

'प्रसाद २' को प्रचारमा मुख्य कलाकारकै छैन साथ!

काठमाडौं : फिल्म तयार भएपछि प्रदर्शन कलाकारका लागि चाडसरह हुन्छ। आफू अभिनित चलचित्र प्रचारका लागि कलाकारले आफ्ना निजी काम छाड्छन् र पुरै समय फिल्म प्रचारमा खर्चन्छन्। 

तर प्राय: नेपाली फिल्ममा भने यो लागू भएको देखिन्न। ‘प्रसाद २’ का कलाकारको सन्दर्भमा पनि ठ्याक्कै यस्तै देखिन्छ।

सुदर्शन थापा निर्देशित यो फिल्म ‘प्रसाद’को सिक्वेल हो। सुशील पौडेलको लेखन रहेको फिल्म ‘प्रसाद २’ आगामी शुक्रवारबाट रिलिज हुँदैछ।

तर ‘प्रसाद २’ को प्रचार निकै सुस्त देखिएको छ। फिल्मका मुख्य कलाकारद्वय विपिन कार्की र केकी अधिकारी अर्कै फिल्मको छायाङ्कनमा व्यस्त छन्। विपिन ‘पशुपति प्रसाद-भष्मे डन’ को छायाङ्कनमा व्यस्त हुँदा केकी भने ‘जय हो’ को सुटिङमा।

केकी मंगलवारमात्रै पोखराबाट काठमाडौं उत्रने भनिएको छ। सोहीदिन रिलिजको कार्यतालिका रहेको फिल्म 'बहाव' को प्रचार भने आक्रामक छ। मुख्य भूमिकामा रहेकी अभिनेत्री सुरक्षा पन्त फिल्मको प्रमोसनको चटारोमा देखिन्छिन्।

यसो त छायाँकनदेखि नै विवादमा थियो प्रसाद २। विपिन कास्कीको ल्वाङ गाउँबाट सुटिङस्थल नै छाडेर आएका थिए भने नम्रता श्रेष्ठले त हातै झिकिन्। टिमसँग अविश्वासको वातावरण सिर्जना भएपछि फिल्मको सुटिङ स्थगित भएको उनले बताएका थिए। कुरा मिलेपछि विपिन पुन: सेटमा फर्किए। 

पहिलो सिक्वेलमा नम्रताको अभियनको प्रशंसा गरिएको थियो। यसपटक कलाकारले किन जोड दिएनन् प्रचारमा? रिस साँधेका हुन् वा 'कोइन्सिडेन्ट' परेर हो? यसले निर्माण टिमलाई कतिको असर पर्ला? यसको नाफाघाटा भने फिल्म प्रदर्शनपछि नै देखिएला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell