इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा राजस्थानले घरेलु टोलीमाथि ७२ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ८ विकेट गुमाएर १३१ रनमा समेटियो।
राजस्थानलाई उच्च स्कोरसम्म लैजान तीन जना ब्याटसम्यानले अर्धशतकीय इन्निङ्स खेले। कप्तान सञ्जु सामसनले सर्वाधिक ५५ रन बनाउँदा ओपनरद्वय यशश्वी जसवाल र जोस बटलरले समान ५४ रन बनाए। आक्रमक ब्याटिङ गरेका बटलरले २२ बलमा ७ चौका र ३ छक्काको सहायतामा ५४ रन बनाएका थिए।
बलिङतर्फ फजलहक फरोक्वी र टी नटराजनले समान २ विकेट लिँदा उमरन मलिकले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादको साझेदारी नजम्दा ठूलो स्कोर खडा गर्न असक्षम रह्यो। हैदराबादका अब्दुल समदले सर्वाधिक अविजित ३२ रन बनाउँदा मयंक अग्रवालले २७, आदिल राशिदले १८ तथा ह्यारी ब्रुकले १३ रन बनाए। त्यस्तै उमरन मलिक १९ रनमा अविजित रहे।
बलिङतर्फ राजस्थानका युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिँदा ट्रेन्ट बोल्टले २ तथा जेसन होल्डर र रबिचन्द्रन अश्विनले समान १ विकेट लिए।
आजै दोस्रो खेलमा मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर प्रतिस्पर्धामा छन्।