PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

अल्पमतमा परेका मुख्यमन्त्री गिरीले आज प्रदेशसभामा विधेयक पेस गर्ने



पहिलोपोस्ट

अल्पमतमा परेका मुख्यमन्त्री गिरीले आज प्रदेशसभामा विधेयक पेस गर्ने

बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक सोमवार बस्ने भएको छ। प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम सोमवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।

सोमवार बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने र प्रदेशसभामा बोल्नका लागि विषेश समय छुट्याइने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)सहितका ८ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका ५४ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको जानकारीसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।

माओवादी केन्द्रसहितका ८ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेकाले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग दलहरुको छ। तर, प्रदेश प्रमुख शेरचनले तत्काल अर्को सरकारको गठनमा लाग्न संविधानले नदिने भन्दै मुख्यमन्त्री गिरीलाई ३० दिनभित्र विश्वासको मत लिने सुविधा दिएका छन्।

कांग्रेससहित साना दलले सोमवारको बैठकमा शून्य समय लिएर बोल्ने र मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब दिने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell