बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक अहिले बसिरहेको छ।
आजको बैठकमा मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने र प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
माओवादी केन्द्रसहितका ८ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन्। कांग्रेस, माओवादीसहित ८ दलका ५४ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको जानकारीसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिसकेका छन्।
माओवादीसहितका ८ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेकाले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग दलहरुको छ। तर, प्रदेश प्रमुख शेरचनले तत्काल अर्को सरकारको गठनमा लाग्न संविधानले नदिने भन्दै मुख्यमन्त्री गिरीलाई ३० दिनभित्र विश्वासको मत लिने सुविधा दिएका छन्।
कांग्रेससहित साना दलले आजको बैठकमा शून्य समय लिएर बोल्ने र मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब दिने तयारी गरेका छन्।