PahiloPost

May 27, 2024 | १४ जेठ २०८१

स्वर्णिमलाई गगनले भने : 'टुरिस्ट', कांग्रेसलाई लात हानेर आए



पहिलोपोस्ट

स्वर्णिमलाई गगनले भने : 'टुरिस्ट', कांग्रेसलाई लात हानेर आए
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई माओवादी र समाजवादीकोसमेत समर्थन गरेको जनाएको छ। कांग्रेसको मात्र नभएर सत्ता गठबन्धनको उम्मेदवार रहेकोले भट्टराईको जित निश्चित हुनेसमेत गगनको भनाई थियो।

तनहुँ २ का उम्मेदवार शंकर भण्डारीसँगै भट्टराई संसदमा देखिने दाबी उनले गरे। 'सबै पार्टीले साझा उम्मेदवार बनाएको छ उहाँलाई माओवादी समाजवादीले पनि,' गगनले भने, 'संसदमा शंकर भण्डारीसँगसँगै गोविन्द भट्टराईलाई पनि देख्नुहुनेछ।'

यसपटक उम्मेदवार छानोटमा मुश्किल भएको उल्लेख गर्दै छलफल गरेर भट्टराईलाई सर्वसम्मत उम्मेदवा बनाउन सफल भएको उनको भनाई थियो। '१२ जना साथीहरुले यो क्षेत्रमा इच्छा राख्नुभएको थियो। सबैलाई न्याय गर्नैपर्छ हामीले। ४६ सालको आन्दोलनमा जेल परेका नेताहरु यहाँ हुनुहुन्छ। तीन पुस्ता चार पुस्ताका मान्छे कांग्रेसमा क्रियाशील छन्। यसपटक उम्मेदवार छान्न मुश्किल थियो,' गगनले भने, 'ती नामबाट एकजनाको नाम छान्नैपर्ने थियो। गोविन्द भट्टराईको नाम छानियो। सर्वसम्मत रुपमा यहाँ प्रस्तुत गरेको छ।'

आफू गोविन्दकै कार्यकर्ता भएको उल्लेख गर्दै नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको क्षेत्रमा भएको उपनिर्वाचनको परिणामसमेत सम्झाउन भ्याए। उक्त क्षेत्रमा टिकट दिँदा निकै रस्साकस्सी हुँदा परिणाम उल्टिएकोसमेत गगनले बताए।

०६४ सालको संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुनाव जितेका थिए। त्यसपछि यादव राष्ट्रपतिमा निर्वाचित भए।

रामवरणले जितेको सिटमा ०६५ सालमा उपनिर्वाचन हुने भयो। उक्त क्षेत्रमा टिकटका लागि हानथाप भएको थियो। 'त्यहाँ पनि टिकटका लागि हानथाप भयो। म सात दिन बसेको थिएँ। हात जोडेर भने,' गगनले भने, 'तर चुनाव हार्नुभयो कांग्रेसको साथीले।' राष्ट्रपति यादवले आफ्ना छोरा चन्द्रमोहनलाई उम्मेदवार बनाएपछि उनी नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसँग पराजित भएका थिए।

महामन्त्री थापाले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस क्षेत्रमा उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले कांग्रेसलाई लात हानेको आरोपसमेत लगाए। उनले पार्टीभित्रै संघर्ष गरेर बस्न सक्नेमात्र कांग्रेस नेता हुने भनाई प्रस्तुत गरे।

'यसपटक चुनावमा जाँदा सँगसँगै एउटा गीत बजेको सुन्नुहुनेछ। पुराना पार्टी खराब भए भनेर। नो नट अगेन भनेर। पहिलो पटक २० सिट ल्याएर आएको हामीले हेर्‍यौ,' गगनले भने, 'हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौ। हामीलाई पनि पार्टी बदल्न चाहना छ। नेपाली कांग्रेसभित्र जे भइरहेको छ त्यो सबै त ठीक भइरहेको छैन। तर नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यही भित्र बसेर संघर्ष गर्नुपर्छ। यो संघर्ष हाम्ले पनि गर्ने हो।'

स्वर्णिमलाई पाहुना उम्मेदवार भएको उल्लेख गर्दै गगनले गोविन्दलाई जिताएर पठाउन तनहुँवासीलाई आग्रह गरे। 'मेरा बाको उमेर भएको सभापतिसँग संसदीय दलको चुनाव भिडेर आएको। ससुराबासँग महामन्त्रीमा भिडेर आएको। त्यसैले भट्टराईलाई जिताएर पठाउनुस्। घुम्दै घुम्दै आएको टुरिस्ट उम्मेदवारलाई तपाईहरुले भन्न सक्नुपर्छ। हामी पनि लडिरहेका छौ। पार्टीभित्र संघर्ष हुन्छ भनेर। त्यो संकल्पमा साथ दिने कोही छ भने त्यो गोविन्द भट्टराई हो। हामीले पार्टीभित्रै संघर्ष गरेका छौ,' महामन्त्री थापाले भने, 'गोविन्दराज जोशीलगायतका नेताहरुलाई एकजुट भएर कांग्रेसलाई सुदृढ बनाउँदै कांग्रेसलाई एकढिक्का बनाएर जाने विश्वासको साथ जसरी भए पनि वैशाख १० गते नेपाली कांग्रेसका उम्मेदवारालाई जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell