फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनको सोसल डेमोक्रेट्स पार्टी संसदीय निर्वाचनमा तेस्रो भएको छ। कन्जर्भेटिभ नेता पेट्टरी ओरपोको नेश्नल कोलिएशन पार्टी निर्वाचनमा पहिलो भएको छ।
'हामीले ठूलो जनमत पायौं,' निर्वाचन परिणाम घोषणा भएपछि ओरपोले भने।
ओरपोको पार्टीले २०.८ प्रतिशत मत ल्याउँदा पपुलिस्टले २०.१ प्रतिशत मत प्राप्त गरेको छ। सन्नाको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ। यद्यपि, उनको दलको सिट संख्या भने बढेको छ। सन्नाको पार्टीले यसपटक निर्वाचनमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो। तर, झिनो मतान्तरले उनको दल तेस्रो भएको हो।
ओरपोको पार्टीले ४८ सिट जितेको छ भने पपुलिस्ट दल दी फिन्सले ४६, सन्नाको सोसल डेमोक्रेटले ४३, सेन्टर पार्टीले २३, ग्रिन लिगले १३, लेफ्ट एलायन्सले ११, क्रिश्चियन डेमोक्रेट्सले ५ र अन्य पार्टीले दुई सिट जितेका छन्। नेश्नल कोलिएशनले सन् २०१९ को तुलनामा ११ जित बढी जितेको हो। सन्नाको पार्टीले ३ सिट बढी जितेको छ।
सन्नाले निर्वाचन परिणाम स्वीकार गर्दै ओरपो र उनको पार्टीलाई शुभकामना व्यक्त गरेकी छिन्।
ओरपोले फिनल्यान्डका जनताले परिवतर्न चाहेको भन्दै आफू सबै दलसँग वार्ताका लागि तयार रहेको बताएका छन्।