काठमाडौं : आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रसाद २’ निर्माता सुवास थापा अहिले विवादमा छन्। थापाविरुद्ध निर्माता केशव पाण्डेले ठगी र बैंकिङ कसूरमा जिल्ला प्रहरी परिसरमा जोहरी दर्ता गरेसँगै थापा विवादमा मुछिएका हुन्।
यसैबिच, निर्माता सुवास थापाले ‘प्रसाद २’ को प्रदर्शनमा सहज वातावरण बनाइदिन आग्रह गरेका छन्। फेसबुकमा स्टाट्स लेख्दै उनले फिल्म प्रदर्शनपछि तिर्न बाँकी पैसा सबैलाई तिर्ने प्रतिबद्धता समेत जनाएका छन्।
‘सम्पुर्ण अवरोध छिचोल्दै प्रसाद २ निर्माण सम्पन्न गरि रिलिजको अवस्थामा पुग्यो। मैले माघमै चलचित्र रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघ पछिको भाकामा तिर्ने वचनवद्धता प्रकट गरेँ। तर, समयमा रिलिज हुन नसक्दा मेरो वचनवद्धतामा म चुकेँ। अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
उनले अघि थप्दै लेखेका छन्, ‘मेरो नियत खराब होइन। नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हुँ। चलचित्र रिलिज पछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र म आफ्नो भागको रकम लिनेछु। हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरि गरेमा मेरो मन्जुरी छ।’
थापाविरुद्ध जाहेरी दिने पाण्डे पनि फिल्म ‘प्रसाद २’ कै निर्माता हुन्। फिल्मको निर्माणको क्रममा विवाद आएपछि पाण्डे उक्त फिल्मको निर्माण पक्षबाट बाहिरिएका थिए। पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँ चेक बाउन्स र ठगी गरेको भनि उजुरी दर्ता गराएका थिए। साथै पाण्डेले पनि सेन्सर रोक्न बोर्डमा उजुरी दिएपछि फिल्मको प्रदर्शनमा गाह्रो भएको हो।
सुदर्शन थापा निर्देशित यस फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको मुख्य भूमिका छ।