PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

जितनारायणलाई 'सेनेगल'सँग दाँज्दै रवि लामिछानेमाथि विश्वप्रकाशले सोधे दुई प्रश्न



पहिलोपोस्ट

जितनारायणलाई 'सेनेगल'सँग दाँज्दै रवि लामिछानेमाथि विश्वप्रकाशले सोधे दुई प्रश्न
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवन २ मा कांग्रेसले अप्रत्यासित जित निकाल्ने दाबी गरेका छन्। कांग्रेसका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवार दर्ता गर्न पुगेका महामन्त्री शर्माले चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

विश्वकपमा सेनेगलले विश्वविजेता फ्रान्सलाई हराएको घटना स्मरण गर्दै शर्माले रवि लामिछानेले हार ब्यहोर्ने दाबी पेश गरे। 'विश्वकप हेर्नुभएको छ भने फ्रान्सलाई नपत्याउँदो टिम सेनेगलले फुटबलको मैदानमा हराएको सम्झना भए वैशाख १० मा के परिणाम आउँछ भन्ने हेर्नुहोला,' शर्माले भने, 'चितवन ब्युझनेछ र चितवनले मेड इन चितवनलाई नै रोज्नुहुनेछ भन्नेमा  विश्वस्त छु।'

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका जितनाराणय श्रेष्ठ उम्मेदवार हुन्। उनले साझा उम्मेदवार भएको हेक्का राख्नुपर्नेसमेत शर्माले बताए। 'तपाई पार्टीको उम्मेदवार बन्दै गर्दै माओवादीको पनि एकीकृत समाजवादीको पनि प्रतिनिधि हुँदै हुनुहुन्छ भन्ने हेक्का राख्नुहोला,' उनले भने।

रवि लामिछानेलाई दुई प्रश्न

महामन्त्री शर्माले चुनावी सभामा रास्वपाका अध्यक्ष लामिछानेलाई दुई प्रश्नसमेत सोधे। 'म दुईटा प्रश्न सोध्न चाहन्छु। हामी पुराना भनिएका दल शेरबहादुर देउवा, पुष्पकमल दाहाल, कमरेड केपी ओली, माधवकुमार नेपाल हामि मिलेरै बसिरहेका थियौ,' शर्माले भने, 'चुनाव जितेर जाँदै गर्दा कांग्रेस माओवादी र समाजवादीले जितेर जाँदा १० वर्षसम्म एकढिक्का भएर नेतृत्व गरेर जान्छौं भनेका थियौ। तपाईले सम्झनुहुन्छ कि हुन्न यो चितवनको माटोमा नो नट अगेन भनेर गुञ्जिएको एउटा नारा। झापाको क्षेत्र नम्बर १ मा पनि गुञ्जिएको थियो। जहाँबाट झापाली जनताको मत पाएर जितेर तपाईहरुको सामुन्ने उभिएर बोलिरहेको छु। भन्दै गर्दा नो नट अगेन भन्ने जितेर अनि चितवनका जनताको मत नो नट अगेन भनेर लिइसकेर जितेर गएको भोलिपल्ट उनै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उनै केपी ओली, उनै माधवकुमार नेपालहरु पाउमुनि राखेर आफूलाई मन्त्रिपरिषदमा पुर्‍याउनतर्फ तपाई लाग्नुभएको। फेरि भन्न सक्नुहुन्छ यो चुनावमा मैले गएको मंसिरमा नो नट अगेन भनेको थिएँ अहिले फेरि नो नट अगेन भन्छु भनेर भन्न सक्नुहुन्छ?'

प्रचण्ड सरकारमा जितेर फेरि जान्न भनेर भन्न सक्नुहुन्छ भनेरसमेत शर्माले प्रश्न गरे। 'मन्त्रिपरिषदमा पुष्पकमल दाहाल हुनुहुन्छ। म मन्त्रिपरिद्मा जान्न भनेर नो नट अगेन भनेर?' शर्माले भने, 'आवेगको भरमा अब मत दिने चितवनलाई छुट छैन।'

त्यसैगरी नेपाली मिडियालाई गाली गर्ने छुट रविलाई नभएकोसमेत शर्माको भनाई रह्यो। 'विश्वप्रकाश शर्माले गल्ती गरे गल्ती भनेर लेख्छन् नेपालका मिडियाले। सही गरे सही लेख्छन्,' शर्माले भने, 'मिडियालाई आलोचना गर्ने अधिकार छ किनभने मिडियाले पनि रगत बगाएको छ।'

शर्माले लामिछाने आफै अदालत आफै वकिल मिडिया बन्न खोजेको आरोपसमेत लगाए। 'मिडियामा उभिँदै गर्दा नेता जति सबै खराब। नेता भएपछि मिडिया जति सबै खराब भन्ने विचार सुसंस्कृत हैन। मिडियाप्रतिको विचार के हो?' उनले प्रश्न गरे, 'त्यसैले १२/१२ भाइ भनेर आएको अभिव्यक्तिबाट के जान्छ? एउटा व्यक्ति आफै अदालत? आफै मिडिया? आफै राजनीतिज्ञ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell