
काठमाडौं: वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। तीनै क्षेत्रमा सोमवार मनोनयन दर्ता सम्पन्न भयो। मनोनयनका दिन तीनमध्ये दुई क्षेत्र तनहुँ १ र चितवन २ को चुनावी सारगर्मी ह्वात्तै बढेको छ। कारण यी दुई क्षेत्रमा प्रमुख दल नेपाली कांग्रेसका महामन्त्रीद्वय खटिनु।
तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराईले उम्मेदवार मनोनयन गरेका छन्। यहाँ गोविन्दलाई यसकारण पनि अफ्टेरो छ कि कांग्रेसको आन्द्रभूँडी बुझेका डा स्वर्णिम वाग्ले घन्टी चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिइसके। भर्खरै रुख छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी बजाउन आइपुगेका उनकै कारण कांग्रेसजन आत्तिएका छन्।
त्यसैले पनि सोमवार दमौलिमा गगन स्वर्णिमविरुद्ध गर्जिए 'टुरिस्ट' भनेर। दु:ख गर्न संघर्ष गर्न छाडेर छिटो लाभको पद खोजेको आरोप स्वर्णिम माथि लगाए गगनले। कांग्रेसलाई लात हानेर बाहिर खराब भन्दै ढुंगा हानेर पार्टी नबदलिने गगनको भनाई थियो। 'हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौ। हामीलाई पनि पार्टी बदल्न चाहना छ। नेपाली कांग्रेसभित्र जे भइरहेको छ त्यो सबै त ठीक भइरहेको छैन,' स्वर्णिममाथि खनिए गगन, 'तर नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यही भित्र बसेर संघर्ष गर्नुपर्छ। यो संघर्ष हाम्ले पनि गर्ने हो।'
यतिमात्र हैन गगनले कांग्रेस दोबाटोको मादल नभएको तर्कसमेत गर्न भ्याए। 'यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन,' गगनले भने। त्यसैगरी गगनले आफू कांग्रेसमा संघर्ष गरेर बसेको र महामन्त्री भएको बताए।
पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा र आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्री भिडेर हारेको प्रसंग सुनाउँदै थापाले आफू छातीमा ढुंगा खाएर कांग्रेसमै बसेको तर्क गरे। 'तिमीले जागिर खाएर आएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो। म त त्यो बेलामा सडकमा बसेर लडेको हो। छातीमा ढुंगा खाएर बसेको हो,' गगनले भने, 'जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन, तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्यौ भने तिमी किन गयौ भन्ने प्रश्न मैले पनि गर्न सक्छु।'
रास्वपाबाट स्वर्णिमको उम्मेदवारी परेकै कारण तनहुँ १ यतिबेला तातिएको छ। स्वर्णिमलाई रोक्न महामन्त्री गगन खटिएका छन्। यता कांग्रेसले गोविन्दराज जोशीलाई फकाउन उनको कारवाही फूकुवा गरेको छ। २०७४ को निर्वाचनमा रामचन्द्र पौडेललाई हराउन वागी उम्मेदवारी दिएको आरोपमा जोशीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो। अहिले स्वर्णिम उक्त क्षेत्रमा रास्वपाबाट उत्रिएपछि गरम रहेको कांग्रेस जोशीप्रति नरम बनेको हो।
चितवनमा उस्तै चर्काचर्की
चितवन २ मा पनि कांग्रेस र रास्वपाकै उम्मेदवारको टक्कर पर्ने देखिन्छ। कांग्रेसले यहाँ चितवन कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। जितनारायणले चुनावी सभालाई सम्बोधन गर्दै प्रयोगशाला नबनाउन रवि लामिछानेलाई चेतावनी दिन भ्याए। यहाँ रास्वपाबाट पार्टी सभापति लामिछाने पुन चुनावी मैदानमा छन्। नागरिकता पुनर्प्राप्ति नगरेकै कारण लामिछानेको सांसद पद खारेज भएको थियो।
यस क्षेत्रबाट जसरी पनि जितनारायणलाई जिताउन कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा खटिएका छन्। सोमवार चुनावी सभामा विश्वकपमा सेनेगलले विश्वविजेता फ्रान्सलाई हराएको घटना स्मरण गर्दै शर्माले लामिछानेले हार ब्यहोर्ने दाबी पेश गरे। 'विश्वकप हेर्नुभएको छ भने फ्रान्सलाई नपत्याउँदो टिम सेनेगलले फुटबलको मैदानमा हराएको सम्झना भए वैशाख १० मा के परिणाम आउँछ भन्ने हेर्नुहोला,' शर्माले भने, 'चितवन ब्युझनेछ र चितवनले मेड इन चितवनलाई नै रोज्नुहुनेछ भन्नेमा विश्वस्त छु।'
चुनावी सभामा महामन्त्री शर्माले चुनावी सभामा रास्वपाका अध्यक्ष लामिछानेलाई नो नट अगेन अभियान कोट्याउँदै प्रचण्ड सरकारमा जितेर फेरि जान्न भनेर भन्न सक्नुहुन्छ भनेर शर्माले प्रश्न गरे। 'मन्त्रिपरिषदमा पुष्पकमल दाहाल हुनुहुन्छ। म मन्त्रिपरिद्मा जान्न भनेर नो नट अगेन भनेर?' शर्माले भने, 'आवेगको भरमा अब मत दिने चितवनलाई छुट छैन।'
त्यसैगरी नेपाली मिडियालाई गाली गर्ने छुट रविलाई नभएकोसमेत शर्माको भनाई रह्यो। 'विश्वप्रकाश शर्माले गल्ती गरे गल्ती भनेर लेख्छन् नेपालका मिडियाले। सही गरे सही लेख्छन्,' शर्माले भने, 'मिडियालाई आलोचना गर्ने अधिकार छ किनभने मिडियाले पनि रगत बगाएको छ।'
शर्माले लामिछाने आफै अदालत आफै वकिल मिडिया बन्न खोजेको आरोपसमेत लगाए। 'मिडियामा उभिँदै गर्दा नेता जति सबै खराब। नेता भएपछि मिडिया जति सबै खराब भन्ने विचार सुसंस्कृत हैन। मिडियाप्रतिको विचार के हो?' उनले प्रश्न गरे, 'त्यसैले १२/१२ भाइ भनेर आएको अभिव्यक्तिबाट के जान्छ? एउटा व्यक्ति आफै अदालत? आफै मिडिया? आफै राजनीतिज्ञ?'
यता रविले भने एकको बदला तीन लिएर जाने दाबी गर्दै आफ्नो जित निश्चित भइसकेको तर्क गरे। विभिन्न मुद्दामा आफूलाई अल्झाउने कोशिश भइरहेको उल्लेख गर्दै लामिछानेले न्यायिक कठघरामा जुनैबेला उभिन तयार रहेको बताए। संविधानको धारा २९१ बारे प्रश्न गर्दा उक्त प्रावधान 'पीआर'मा मात्र लागू हुने र यसको पनि थप व्याख्या गरे। 'पीआर त्यागेको ९० दिन हो। त्यो अदालतको फैसालाले नै लेखिदिएको छ। सन् २०१८ मै त्यागिसकेको हुनाले भनेर त्यहाँ लेखिएको छ,' जवाफमा लामिछानेले भने, 'त्यसलाई पनि कसैले व्याख्या गर्दियो भने अब एउटै उपाय छ अब यो देशमा म घाँडो नै भएको भए अब मारदिए पनि भइहाल्यो।'
बारामा त्रिपक्षीय भिडन्त
बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुले आफूहरुले नै जित्ने दाबी गरेका छन्।
जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्दै जित्ने दाबी गरे। 'म बारावासीको सम्मानको लागि चुनाव लड्न आएको छ। जनता अजय हुन्छ। बारा २ का जनतामा उत्साह र उमंग छाएको छ। बारावासीले चुनाव लड्न बोलाएपछि आफु उम्मेदवारी दिन आएको हुँ,' उम्मेदवारी दर्तापछि उनले भने।
यस क्षेत्रमा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाएको छ। उनले पनि बारावासीकै आग्रहमा चुनाव लड्न आएको दाबी पेश गर्न भ्याए। ‘बारावासीकै आग्रहमा निर्वाचनमा आएको हुँ। मेरो एजेन्डा सुशासन, शिक्षा र सुरक्षा हो,' खरेलले भने।
छायामा एमाले
तीनै क्षेत्रमा एमालेका उम्मेदवार छायामा परेका छन्। तनहुँ १ बाट पूर्व आइजी सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् भने चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। चितवन २ मा एमालेबाट गोकुल बास्कोटा चुनावी साथका लागि पुग्दा सर्वेन्द्रको साथमा केन्द्रीय नेता देखा परेनन्।
यता बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन्। 'बारा २ को हरेक गाउँमा एमालेका झण्डा फहराइरहेको छ। जनता यसपाली एमालेलाई लागि परेका छन्। त्यसैले हाम्रो जित निश्चित रहेको छ,' उम्मेदवारी दर्ता गर्दै एमाले जित्ने पक्का रहेको उनले दाबी गरे।
माओवादी उम्मेदवारविहीन
तीनै क्षेत्रमा सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा माओवादीको उम्मेदवार परेन। सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने गरी माओवादीले तीनै क्षेत्रमा उम्मेदवारी नदिएको हो। तनहुँ १ मा माओवादीले कांग्रेसका गोविन्द, चितवन २ मा कांग्रेसका जितनारायण र बारा २ मा जसपाका अध्यक्ष उपेन्द्रलाई सघाउने भएको छ। माओवादीले उम्मेदवारी नदिने भएपछि गत निर्वाचनमा थोरै मतले पराजित शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर यहाँबाट उम्मेदवार बनेका छन्। यस क्षेत्रमा जनमत उपेन्द्र यादव हराउ अभियानमा छ। उपेन्द्रलाई गत निर्वाचनमा जनमतका अध्यक्ष डा सीके राउतले पराजित गरेका थिए। उपेन्द्रलाई सत्ता गठबन्धनले सघाउने भएपछि जनमतले सरकारसमेत छाडिसकेको छ।