PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘एसीसी’को मापदण्ड पुर्‍याउन मुलपानी मैदानको धमाधम स्तरोन्नति, प्रतियोगिताअघि अभ्यास खेल खेलाउने योजना!

‘एसीसी’को मापदण्ड पुर्‍याउन मुलपानी मैदानको धमाधम स्तरोन्नति, प्रतियोगिताअघि अभ्यास खेल खेलाउने योजना!

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : यसपाला नेपालले क्रिकेट इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिताको जिम्मेवारी पाएको छ : एसीसी प्रिमियर कपको। नेपालमा क्रिकेटको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा व्यस्तता बढ्दथ्यो। तर, अहिले व्यस्तता कीर्तिपुरबाट मुलपानीमा ‘सिफ्ट’ भएको छ।

पहिलो पटक मुलपानीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता हुँदैगर्दा कीर्तिपुर सँगसँगै मुलपानीमा पनि चहलपहल बढेको हो। महिना दिन भन्दा बढी भयो मुलपानीमा मैदानदेखि ‘प्लेयर बक्स’सम्म स्तरोन्नतिको कामले गति लिइरहेको छ।

उसो त मुलपानीमा राष्ट्रियस्तरका प्रतियोगिताहरु नभएका भने होइनन्। तर, कहिले ‘म्याट’ ओछ्याएर त कहिले दुरावस्थाको पिचमा खेल खेलाएर बदनामी मुलपानीको मैदानले ब्यहोरेको थियो। २०७७ सालमा भएको काठमाडौं मेयर्स कपमा त त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मुलपानीको पिच खेतजस्तो भएको बताएका थिए।

‘म त पिच नै भन्दिन माटोमा खेलाइरहेको छ,’ उनले भनेका थिए।

उनका प्रतिद्वन्द्वी टिमका तत्कालीन कप्तान मञ्जित श्रेष्ठले पनि सोही किसिमको प्रतिकृया दिएका थिए। जसले गर्दा प्रायोजक काठमाडौं महानगरपालिकाले क्रिकेट संघलाई दबाब दिँदा क्यानले ती खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो।

त्यसयता कर्मकाण्डी खेलहरुबाहेक अन्य खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भइरहेका छन्। यसपटक भने एसियन प्रिमियर कपमा १० टोली सम्मिलित प्रतियोगिता मुलपानी र टीयू क्रिकेट मैदानमा आयोजना हुने तालिका छ।

धमाधम निर्माण

पछिल्लो महिनायता मुलपानी क्रिकेट मैदानको स्तरोन्नतिको काम अघि बढिरहेको छ। बंगलादेशबाट ‘पीच क्युरेटर’ झिकाएर क्यानले काम गरेको ४० दिन भन्दा बढी भइसकेको छ। मैदान लगायत दर्शक बस्ने क्षेत्रमा शौचालय, आईसबाथ, पार्किङ, गेट, बारलगायतको निर्माणकार्यले गति लिइरहेको छ।

‘माथिको फ्लोअरबाट दर्शक आउने व्यवस्था मिलाउने छौँ। त्यसको साइडमा अहिले केही छैन। तर, त्यहाँ शौचालय र पानीको व्यवस्था गर्छौँ। पार्किङ तल राखेको छ। टीयू भन्दा बढी नै अट्छ जस्तो लाग्छ’, कोषाध्यक्ष रोशन सिंह भन्छन्, ‘३०/३५ दिनयता हामी खटिरहेका छौँ। बिहान ७ बजेबाट बेलुका ६/७ बजेसम्म काम चलिरहेको छ। मैदान लगभग फाइनल अवस्थामा छ। दर्शकतिर अलि अफ्ठ्यारै छ। तर, हामी म्यानेज गर्ने क्रममा छौँ।’

दश टोली सहभागी हुने प्रतियोगिताका लागि होटलको पनि व्यवस्थापन मिलाइसकेको उनले बताए।

‘होटलहरु तीनवटा भएको छ। हायत प्यालेस, हायात रेजेन्सी र सोल्टीमा विदेशी राख्ने तयारी छ’, उनले भने, ‘सबैतिर बेग्लाबेग्लै वर्कर खटाएका छौँ। विभिन्न टिम गरेर ५०/६० जनाले दैनिक काम गरिरहेका छन्।’

आयोजकले मैदानमा घास उमार्न ट्यांकरबाट पानी ल्याएर मैदान भिजाइरहेको थियो। मैदानमा दैनिक १० ट्याङकर पानीले नपुगेर र बोरिङबाट पनि पानी तानेर प्रयोग गरिरहेको अवस्थामा वर्षा हुँदा राहत मिलेको उनी बताउँछन्।

प्रतियोगिताको तयारी चल्दै गर्दा दर्शक बस्ने स्थानतर्फको भने व्यवस्थापन मिलेको देखिँदैन।

‘दर्शक बस्नेतिर पनि हामीले ठीकठाक अवस्थामा पुर्‍याएका छौँ। भएकोलाई राम्रो गर्ने अवस्था छ,’ उनले भने।

एसीसीले पठाएको ‘ड्राफ्ट’ भन्दा पनि राम्रो काम भइरहेको दाबी सिंहको छ। हरेक दिन बेलुका बसेर यो भन्दा राम्रो काम कसरी गर्ने भनेर छलफल गर्ने गरेको उनले सुनाए।

‘बाँकी वालपेन्ट, बाहिरको डेकोरेसन् गर्न बाँकी छ। भित्र ड्रेसिङ रुमको काम बाँकी छ। सानोसानो टुक्राकाम बाँकी छ’, उनले भने, ‘आउटफिल्डमा रोलिङको काम बाँकी छ। पानी परेर झन सहयोग भएको छ। जति पानी चाहिएको थियो त्यो भन्दा धेरै भइसकेको छ। मौसमले साथ दिए रोलिङ गरेर फाइनल अवस्थामा पुग्छौँ।’

प्रतियोगिता अघि खेल खेलाउने तयारी

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले दिएको निर्देशिका बमोजिम नै काम भइरहेको कोषाध्यक्ष सिंहको दाबी छ।

‘एसीसीबाट हामीले जिम्मेवारी पाएका थियौँ। त्यसका लागि समय दिइएको थियो, त्यसअनुसार काम पनि गरिरहेका छौँ’, उनले भने, ‘हामी टिम नै लागेका छौँ। त्यो हिसाबले काम भइरहेको छ। समयमै सम्पन्न हुन्छ।’

एसीसीमा दैनिक मैदान स्तरोन्नतिका फोटो र भिडियोहरु पठाइरहेको सिंहले बताए।

सिंहले प्रिमियर कपअघि नै केही अभ्यास खेलहरु मुलपानी मैदानमा गराउने तयारी रहेको बताए। त्यसका लागि केही टोलीसँग संवाद पनि अघि बढारहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

‘प्रतियोगिता अघि म्याच खेल्नका लागि केही टिमले अप्रोच गरिरहेका छन्। तर, त्यसमध्ये छनोट गरेर २/३ वटा म्याच खेलाउँछौँ होला,’ पाठकले भने।

बंगलादेशबाट क्युरेटर, ‘प्रतियोगिता अघि मापदण्डको बन्छ’

मैदानको स्तरोन्नतिका लागि तीन जना ‘क्युरेटर’ आएकोमा हाल मोहम्मद अब्दुल अल ममुन मैदानमा खटिएका छन्। उनी बंगलादेश क्रिकेट बोर्डबाट नेपालको मैदान बनाउन आएका हुन्।

‘यहाँको मैदानको अवस्था बंगलादेशको भन्दा फरक छ’, उनी भन्छन्, ‘हामी डेड महिनायता काम गरिरहेका छौँ। म यहाँ आउँदा मैदान पुरै पहेँलो थियो। अहिले राम्रो भइसकेको छ। मैदानमा खाल्डाखुल्डी पनि धेरै थियो। त्यो पनि मिलिसकेको छ।’

मैदानको स्तर अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्ने भएको छ त? यसमा उनको जवाफ हो र होइनमा भन्दा पनि केही कुटनीतिक छ।

‘आधारभूत रुपमा तयार भइसकेको छ। आउटफिल्डमा पनि रासायनिक मल प्रयोग गरेर राम्रो बनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्डको बनाउन सक्दो प्रयास गरिरहेको छु,’ उनले भने।

नेपालमा हुने एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ। प्रतियोगिताका खेलहरु बैशाख ५ गतेबाट ९ दिनसम्म लगातार दैनिक दुईवटा हुनेछन्।

प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।

इमर्जिङ टीम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेशको ए टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।

खेलतालिका                               

मिति टीयू मैदान    मुलपानी मैदान
बैशाख ५ नेपाल Vs मलेसिया हङकङ Vs सिंगापुर
बैशाख ६ यूएई Vs कुवेत ओमन Vs कतार
बैशाख ७ सिंगापुर Vs बहराइन मलेसिया Vs साउदी
बैशाख ८ नेपाल Vs ओमन यूएई Vs हङकङ
बैशाख ९ कतार Vs साउदी कुवेत Vs बहराइन
बैशाख १० यूएई Vs सिंगापुर ओमन Vs मलेसिया
बैशाख ११ हङकङ Vs बहराइन नेपाल Vs साउदी
बैशाख १२ कुवेत Vs सिंगापुर कतार Vs मलेसिया
बैशाख १३ ओमन Vs साउदी यूएई Vs बहराइन
बैशाख १४  नेपाल Vs कतार हङकङ Vs कुवेत

 

 



ट्रेन्डिङ पोस्ट

Ncell