काठमाडौं : निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापाविरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो।
केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउको अनुमति ल्याएको हो। उनलाई प्रहरीले फरार रहेको भन्दै खोजी गरिरहेको छ। ‘प्रसाद’को निर्माता रहेका उनले ‘प्रसाद-२’को निर्माता बनाउँछु भन्दै पाण्डेसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाङ्कन सक्काएको उजुरीमा उल्लेख छ।
थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परिसकेको छ। पाण्डेले निर्माता संघमा समेत उजुरी दिएको बताए। उनले थापाको बदमासी खुलाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिन खोज्दा बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनमा निवेदन नै दर्ता नगरेको बताए।
बैंकिङ कसुरमा फरार रहेका थापाले फेसबुकमा लेख्दै फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन्।