PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

रामपुर क्याम्पसको स्ववियू निर्वा‌चन रद्द गर्न कांग्रेसको माग, विद्यार्थीमाथि कुटपिटको निन्दा 



पहिलोपोस्ट

रामपुर क्याम्पसको स्ववियू निर्वा‌चन रद्द गर्न कांग्रेसको माग, विद्यार्थीमाथि कुटपिटको निन्दा 

काठमाडौं : नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रद्द गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसको स्ववियू निर्वाचन रद्द गरी पुन निर्वाचन गराउन माग गरेका हुन्। चैत १७ गते भएको निर्वाचनमा अनेरास्ववियुका दिवस पौडेल अध्यक्षमा निर्वाचित भएका थिए। 

निर्वाचन एकलौटी भएको भन्दै नेविसंघले बहिस्कार गरेको थियो। पुन: निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण बुझाउन गएका स्ववियू सचिव पदका उम्मेदवारमाथि आक्रमण भएकोमासमेत कांग्रेसले निन्दा गरेको छ। 'रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संस्थासँग कुनै समन्वय नै नगरी अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी २०७९ चैत १७ गतेका दिन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेको घटनालाई लिएर पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,' कांग्रेसको विज्ञप्तिमा भनिएको छ। 

कांग्रेसले कुटपिटको घटना छानबिन गरी पुन निर्वाचन गराउनसमेत माग गरेको छ। 'चैत १७ गते नै उक्त अवैधानिक निर्वाचनको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहनु भएका आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको थियो। चैत १७ गते घाइते हुनु भएका देवकोटा, यादव र हिजो घाइते हुनु भएका अर्यालको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ। साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell