बुटवल : बुटवलमा सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाभित्रका सडकमा छाडा कुकुरको संख्या वृद्धि भएको र सर्वसाधारणलाई साँझबिहान एक्लै हिँड्ने क्रममा आक्रमण गरेको गुनासो बढेपछि रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। मंगलवारबाट सुरु भएको अभियान ३ दिनसम्म सञ्चालन हुनेछ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताए।
सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए।
बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए। उनले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका १९ वटै वडाहरुबाट कुकुर संकलन गरिने बताए।
यसअघि सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले पनि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका थिए।