काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने दाबी गरेका छन्। चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै मंगलवार लामिछानेले यस्तो दाबी गरेका हुन्। उनले आफूलाई जति गिराउन खोजे पनि माथि पुग्ने तर्क गरे।
'हामीलाई जति गिराउन खोज्छन् हामी उतिनै माथि पुग्छौ,' लामिछानेले भने, 'हावा भरेको भकूण्डोजस्तै हो। मुद्दा हाल्नुहोला। देश विदेशमा हाल्नुहोला। पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्छ।' कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गाली नगर्न अनुरोध गर्दै उनले डा स्वर्णिम वाग्ले देशको लागि चाहिने नेता भएको बताए। 'युवा भन्नेलाई भन्न चाहन्छु गालीगलौच नगरे हुन्छ। स्वर्णिम वाग्ले र रमेश खरेलले जनाउ घण्टीमात्र बजाएका हुन्,' लामिछानेले भने। यसपटक तीनै जनाले जसरी पनि जित्नुपर्ने उल्लेख गर्दै कतै कतै मतदाताले पहिलेजस्तो छैन भनेर सुझाव दिएकोसमेत उनले बताए।
आफूले ज्यानको पर्वाह नगरी चुनाव लडेको उल्लेख गर्दै यसपटक केही मतदाताले अत्याएकोसमेत उनले बताए। 'हामीलाई गाली गर्न लागिपरेका छन् यिनीहरुले देश बनाइहाल्छन् होला भनेर। अघिल्लोपटकभन्दा दोब्बर मत ल्याएर जित्नुपर्नेछ,' लामिछानेले भने, 'मलाई कसैकसैले अत्याउनुहुन्छ। बाबु पहिलेको जस्तो छैन। अहिले त कांग्रेस कांग्रेसतिर लागे। एमाले एमालेतिर लागिहाले। तिमलाई भोट हाल्दैनन् कि भन्ने सुन्छु।'
आफ्नो क्षेत्रका मतदातालाई यो देश बनाउने सपना कुन पार्टीसँग छ भन्ने कुरा प्रष्ट थाह भएको उल्लेख गर्दै यस्तो भ्रममा नलाग्नसमेत आग्रह गरे। 'कुन पार्टीसँग यो देश बनाउने सपना छ भन्ने कुरा चितवनवासीलाई थाह छ,' उनले भने, 'अरु पार्टीका साथीहरुले अब घन्टीमा भोट नहाल्ने है देखिहालियो, भन्ने रहेछन्। के देखिहालियो? एकै महिनामा मुल्याङ्कन गर्नु गलत हो।'