PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महानगरले टेलिकम परिसरमा यसरी फाल्यो फोहोरको डंगुर



राधेश्याम पटेल

महानगरले टेलिकम परिसरमा यसरी फाल्यो फोहोरको डंगुर

वीरगंज :वीरगंज महानगरपालिकाले नेपाल टेलिकमको कार्यालय परिसरमा फोहोर थुपारेको छ। श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले फोहोर थुपारेको हो। फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आरोप लगाउँदै महानगरले टेलिकमको परिसरमा फोहोर थुपारेर जनाएको छ। 

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि सांकेतिक विरोधस्वरुप फोहोर खसालेको जनायो।

महानगरपालिकाले वीरगंजमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको हो। 

टेलिकमले अप्टिकल फाइबार विच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ। खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगरप्रमुख राजेशमान सिंहले बताए।  

कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए। गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो। 

फोहोरसहितको ट्याक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगंज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पार्दा बाइपास सडक कुरुप भएको छ, त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेउ भनेर पटक-पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं।’

उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दासमेत टेलिकमले नटरेको घिमिरेको भनाई छ। घिमिरेले भने, ‘अब हामीले कति चोटी अनुरोध गर्ने? हामीसँग अरु कुनै विकल्प नै भएन, नागरिकलाइ त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ, महानगर अब  टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो, अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको सामधान हुनेछ भन्ने अपेक्षा लिएका छौं।’   

महानगरले चलाएको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उनले बताए। टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन्। यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी मलेषगंज पेट्रोलियम पाईपलाईनले समेत आफनो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन्। खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell