PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

'बहाव' को केही अंश मेरो जीवनसँग मिल्छ : सुरक्षा पन्त



पहिलोपोस्ट

'बहाव' को केही अंश मेरो जीवनसँग मिल्छ : सुरक्षा पन्त

काठमाडौं : प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्म ‘बहाव’ आगामी शुक्रवारबाट रिलिज हुँदैछ। वैचारिक विद्रोहको कथा भन्ने फिल्ममा सुरक्षा पन्त र कमलमणी नेपाल मुख्य भूमिकामा छन्।

‘बहाव’ को कथा जति समाजसँग नजिक छ। त्यति नै निर्देशक र कलाकारहरुको जीवनसँग मिल्दोजुल्दो छ। अभिनेत्री सुरक्षा पन्तले ‘बहाव’ को पुरै कथा नमिले पनि केही अंश आफ्नो जीवनसँग मेल खाने बताइन्।

उनले पत्रकारसँगको भेटघाट कार्यक्रममा भनिन्, ‘मलाई फिल्मको आइडिया सुन्दा नै  स्टोरी आफूसँग कनेक्ट भएजस्तो लाग्यो। म केटी मान्छे भएकाले पुरै कथा नमिले पनि केही न केही अंश मसँग मिलेजस्तो लाग्यो। म छोरी भएकाले बुवासँग मेरो पनि सम्बन्ध हुन्छ। हाम्रो घरमा बुवा र दुईटा आमा हुनुहुन्छ। आठ जनाको परिवारमा हामी अधिंकाश महिलाहरु छौं। तर, अहिले पनि पुरुषले राज गरिरहेको परिवार हो। कता कता फिल्मको कथा आफूसँग सम्बन्धित भएको जस्तो लाग्छ। यो फिल्मको हिरो हिरोइन भनेकै बाबु छोरी अर्थात् कमल दाई र म हौं। फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ।’

कलाकार कमलमणि नेपालले पनि फिल्मको केही दृश्यहरु आफ्नो जीवनसँग मिलेको बताए। उनले एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको समेत खुलाए।

'फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लागे पनि स्क्रिप्ट गहिरिएर पढ्दा फिल्म सन्ध्याको मनोभाव रहेछ भन्ने लाग्यो। हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो। सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ। म विवाहित हुँ, मेरो पनि छोरी छ। सन्ध्या र म बिच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ। यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु। त्यो अवस्थामा आफूलाई रोक्न सकिनँ। दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ।’ उनले भने।

फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू नजिक रहेको निर्देशक कँडेलले बताए।

‘फिल्मको कथा मसँग केही न केही सम्बन्धित छ। यो कथा लेखिरहँदा भाईको पात्रमा आफूलाई समेटेको छु। मैले जीवनमा जे कुरा भोगें, ती कुरा दर्शकले भाईको चरित्रमा पाउनुहुन्छ,’ उनले भने।

यो फिल्ममा श्रीधर पौडेलको लगानी छ। फिल्ममा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell