PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

तनहुँ १ को चुनावी ब्याटलः मैदानमा स्वर्णिम, सर्वेन्द्र र गोविन्द, कारबाहीमा परेका जोशीको साथ कसलाई?



रिना थापा

तनहुँ १ को चुनावी ब्याटलः मैदानमा स्वर्णिम, सर्वेन्द्र र गोविन्द, कारबाहीमा परेका जोशीको साथ कसलाई?

पोखराः वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। लामो समयदेखि राजनीति गरिरहेका नेता, अर्थविज्ञ र प्रहरी संगठन चलाएका अनुभवी व्यक्ति चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले यस क्षेत्रमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र नेकपा  (एमाले) बाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्।

गत मंसिर ४ मा कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याउँदै एमालेका एकबहादुर राना मगरलाई हराएका थिए। कांग्रेसबाट सांसद भएका पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको क्षेत्रमा दलहरू आफ्नो पकड जमाउन चाहन्छन्।

चैत १६ मा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका अर्थविज्ञ स्वर्णिम तनहुँमा उम्मेदवार छन्। यस्तै यसै क्षेत्रबाट मंसिर ४ को निर्वाचन पराजित सर्वेन्द्र खनाल स्वर्णिमसँगै मैदानमा छन्। काठमाडौँ ६ बाट उम्मेदवार बनेका सर्वेन्द्रलाई रास्वपाका शिशिर खनालले हराएका थिए। यी दुवै उम्मेदवारसँग प्रतिस्पर्धामा छन् कांग्रेसका केन्द्रीय सदस्य गोविन्द। जो पहिलोपटक सांसदका लागि चुनावी मैदानमा छन्। यी तिनै उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन्।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको साथ पाएको कांग्रेसले ५ हजार ३८० बढी मत ल्याउँदै जीत हासिल गरेको यस क्षेत्रमा जीत अब कसले निकाल्छ हेर्ने बाँकी छ।

कांग्रेसले मंसिर ४ मा पाएको मत समाल्न सक्छ वा सक्दैन देखिने छ। सांसद बन्नका लागि रास्वपामा प्रवेश गरेका स्वर्णिमले कांग्रेसको मत तान्न सक्ने सम्भावना पनि उत्तिकै छ। यता एमालेका सर्वेन्द्र पनि निर्वाचनको मैदानमा होमिइसकेका अनुभवी प्रतिस्पर्धी हुन्।

गठबन्धनबाट उम्मेदवार रहेका गोविन्दलाई यसअघि निर्वाचनको मत परिणाम हेर्दा जीत निकाल्न सहज देखिन्छ। तर, कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको कारण धक्का लाग्न सक्छ। यद्यपि हिजो तनहुँमा भएको भेलाले जोशी समूहले उपनिर्वाचनका लागि उम्मेदवार नबन्ने बताएको थियो। निर्णय अनुसार नै जोशी समूहबाट कुनै पनि उम्मेदवारको उपनिर्वाचनका लागि मनोनयन दर्ता भएन। तर, यस क्षेत्रमा जीत निकाल्न जोशीको समूहको पक्ष वा विपक्षले अर्थ राख्ने देखिन्छ।

मंसिर ४ मा कांग्रेसबाट रुष्ट जोशीले स्वतन्त्र उम्मेदवार बन्दै ६ हजार ८८६ मत ल्याएका थिए। जुन मत तेस्रो स्थानमा पर्छ। ६ हजार बढी मत पाएका जोशी समूह तत्काल भने तटस्थ बस्ने निर्णय गरेको छ। अन्तिम समयसम्म जोशी समूहको मत कुन पक्षलाई जाने छ त्यसले परिणाममा प्रभाव पार्नेछ।

यस्तै यस क्षेत्रमा रास्वपा पनि अघिल्लो निर्वाचनमा बलियो देखिएको थियो। रास्वपा उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। यस क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ पनि राम्रो मत प्राप्त गरेको थियो। कांग्रेसले समानुपातिकमा २० हजार १५८ मत प्राप्त गर्दा रास्वपाले १२ हजार ७७३ मत पाएको थियो। जुन मत एमालेको भन्दा धेरै हो। रास्वपाले अहिले प्रभाव पार्न सक्ने उम्मेदवार उठाएको छ। जसले मतमा तलमाथि हुने संकेत दिन्छ।

रास्वपाको चुनाव चिन्हले पाएका मतलाई आधार बनाउने हो भने पनि स्वर्णिमलाई चुनाव जित्न मुस्किल हुनेछ। उनले चुनाव जित्नको लागि छोटो समयमा मतदातालाई प्रभाव पार्न सक्नुपर्छ। पार्टी सभापति रवि लामिछानेको ‘चार्म’ र युवामाझ परिचित रहेका स्वर्णिमले मतदाताको मत जित्न सक्छन् वा सक्दैन नतिजाले देखाउने छ। यता, प्रहरी संगठन हाँकेका सर्वेन्द्र तनहुँको भूगोलमा नयाँ अनुहार हुन्। तर पनि एमाले आफ्नो जीतमा आशावादी छ। एकीकृत समाजवादीभित्र रुष्ट रहेका नेताहरूको समर्थन एमालेलाई जाने विश्वास नै जीतको आशा बनेको छ उनीहरूको लागि।

आफ्नो पार्टीको उम्मेदवार उठाउन चाहेको एसका नेतालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले निराश पारेपछि गण्डकीका नेता रुष्ट छन्। एसका सांसद कृष्णकुमार श्रेष्ठको प्रभाव रहेको क्षेत्र पनि हो यो। त्यसैले एसको समर्थनले अर्थ लाग्ने छ। चुनावको मौकामा नै एमालेले एसका बलियो नेतालाई पार्टीमा फर्काउन खोजिरहेको छ। अघिल्लो हप्तामात्र एमाले महासचिव पृथ्वीसुब्बा गुरुङसँगका एसका गण्डकी नेताहरूको भेटघाट तस्बिर सार्वजनिक भएको थियो। यता कांग्रेसका उम्मेदवार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भनेजस्तै पाहुना उम्मेदवार होइनन्। तनहुँमा परिचित रहेका गोविन्दलाई कांग्रेसले यसअघि प्राप्त गरेको मत गएमा उनको जीत पनि सुनिश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell