PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नरोकिएको पुरानै शैलीको ठगी, उपहारको लोभमा पर्दा लाखौँ रुपैयाँ स्वाहा!



सविन ढकाल

नरोकिएको पुरानै शैलीको ठगी, उपहारको लोभमा पर्दा लाखौँ रुपैयाँ स्वाहा!
Photo: phnompenhpost.com

काठमाडौं : रविना सापकोटाको अमेरिकी ह्वाट्सएप नम्बरबाट एक युवकसँग सम्पर्क हुन्छ। उनीहरूबिच कुराकानी हुँदा युवकले आफ्नो नाम डेनिस मारेन बताउँछन्।

केही समयको कुराकानीमा उनीको सम्बन्ध झनै झ्याङ्गिँदै जान्छ। भर्चुअल भेटमा नै उनीहरुको सम्बन्ध प्रगाढ बनेको हुन्छ।

केही दिनमा नै रविनालाई डेनिस अमेरिकाबाट गिफ्ट पठाउने बताउँछन्। गिफ्टमा आइफोन, केही सुनका गहना र अमेरिकी डलर समेत भएको उनले बताउँछन्।

त्यति महँगो उपहार पाउने भएपछि रविनाले केही नसोची स्वकार गर्ने बताउँछिन्। जुन कुरा उनले आफ्नी साथी सम्झनालाई पनि सुनाएकी हुन्छिन्।

डेनिसले अमेरिकाबाट गिफ्ट पठाइसकेको बताउँछन्। रविना गिफ्ट पाउने आशामा दिनहरू गन्दै बसिरहेकी हुन्छिन्।

एक दिन रविनाको मोबाइलमा भारतीय नम्बरबाट कल आउँछ। कल्पना राई बताउने युवतीले कल गर्छिन्।

आफू विमानस्थल भन्सार कार्यालयको कर्मचारी भएको र सामान नेपालसम्म पठाउन कर तिर्नुपर्ने बताउँछिन्। लाखौँको गिफ्ट अमेरिकाबाट भारतमा आएको जानकारी रविनाले पाउँछिन्।

अब कर तिरेपछि मात्र नेपाल आउने सर्त थियो। त्यसमा रकम नेपालबाट नै तिर्नुपर्ने राईले बताएकी हुन्छिन्। जुन कुरा डेनिसलाई सुनाउँछिन्। नेपालबाट नै पैसा तिर्नु पर्ने भएपछि रविना तयार हुन्छिन्।

नेपालमा रहेका शैलेस क्षेत्रीको नाममा नेपाल बङ्गलादेश बैङ्कमा रकम जम्मा गर्न भनिएको हुन्छ। एक पटक रकम जम्मा गर्छिन्। तर गिफ्ट आउँदैन। दोस्रो पटक फेरी जम्मा गरेर ४ लाख १५ हजार रुपैयाँ खातामा हालेकी हुन्छिन्। तर पुनः गिफ्ट आउँदैन।

त्यसपछि फेरि रविनालाई सम्पर्क हुन्छ। डलर पनि पठाएकाले थप रकम हाल्नु पर्ने हुन्छ। पटक-पटक रकम मागेपछि भने रविनालाई शंका लाग्न थालेको हुन्छ।

त्यसपछि उनी प्रहरीमा पुग्छिन्। प्रहरीको अनुसन्धानमा उनी ठगिएको खुल्छ। प्रहरीमा यस्ता प्रकृतिका ठगी धेरै भएको देखिन्छ।

छोटो समयमा नै साथी बनाएर ठगी गर्ने गरेको छ। यस्ता गिरोहले ठगी गर्न महिलालाई टार्गेट बनाउने गरेका छन्। कतिपय महिलाले आफ्ना श्रीमान् र नातागोतालाई समेत थाहा नदिई लाखौँ रुपैयाँ बुझाउने गरेको साइबर ब्युरोका एसपी पशुपति राय बताउँछन्।

‘लोभमा पर्दा कहिल्यै भेट्दै नभेटेको मानिसले भर्चुअल कुराकानीमा नै लाखौँ बुझाएको भेटिन्छ। जनचेतनाको कमी र लोभ नै यसको कारण देखियो,’ ब्युरोका एसपी रायले भने।

उपहारको लोभमा ठगिने मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको दाबी रहेको छ। साइबर ब्युरोमा अहिले दैनिक ३/४ जना यस्तो प्रकृतिको घटनामा पीडित भएर उजुरी लिएर आउने गरेको एसपी राय बताउँछन्। प्रहरी परिसर काठमाडौं र अन्य प्रहरी कार्यालयमा पनि यस्तो उजुरी उत्तिकै रुपमा आउने गरेको छ।

केही वर्षदेखि विभिन्न गिरोहले यस्तै उपहारको नाममा ठगी गरिरहेका छन्। तर लोभबाट माथि उठ्न नसक्दा पीडित बन्नु पर्ने अवस्था रहेको छ। ठग्ने मानिस विदेशमा बस्ने हुँदा प्रहरीको अनुसन्धान घेराबाट बाहिर नै रहेका छन्।

रविनाको केसमा पनि शैलेस क्षेत्री भनिने मानिस फरार रहेका छन्। उनको मुद्दा अदालतमा दर्ता भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालयले ठगिएको रकम बराबरको माग दाबी गरेको छ।

त्यस्तै, पक्राउ परेको खण्डमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार कारबाही गर्न माग गरिएको छ। कसुर प्रमाणित भएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँ जरिबाना हुन सक्ने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell