PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महानगरले परिसरमै फोहोर थुपारेपछि दबावमा टेलिकम, थाल्यो काम



राधेश्याम पटेल

महानगरले परिसरमै फोहोर थुपारेपछि दबावमा टेलिकम, थाल्यो काम

वीरगंज : वीरगंज महानगरपालिकाले मंगलवार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि नेपाल टेलिकम दबावमा परेको छ। टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधवारदेखि मर्मत शुरु गरेको छ।

वीरगंजको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलवार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर फोहोर श्रीपुरस्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरभित्रै लगेर फालेको थियो।

महानगरको उक्त कदमपछि दबावमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधवार बिहानैदेखि मर्मत गर्न थालेको वीरगंजका मेयर राजेशमान सिंहले बताए।

मंगलवार बिहान टेलिकम परिसरमा महानगरले फोहोर थुपारेर सांकेतिक विरोध जनाएपछि मंगलवार नै बेलुकी टेलिकम प्रादेशिक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्ल्किले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै  पुरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए।

मल्लिकका अनुसार, बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ती चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ। उक्त कार्य चैत २७ भित्र सक्ने गरि मर्मतको ठेक्का सकारेको पाइनस-वनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका छन्।

त्यही प्रतिबद्धताअनुसार रोकिएको मर्मत कार्य बुधवार बिहानैदेखि सुरु पनि गरिसकिएको मल्लिकले बताए।

टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरु गरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले बुधवार बिहानैदेखि हटाएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।      

टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको थियो। खनिएका सडक र फुटपाथ मर्मतका लागि पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर मंगलबार बिहान टेलिकम परिसरमा कचरासहितको फोहोर फाल्नु परेको घिमिरेले बताएका थिए।

घिमिरेका अनुसार, गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटकपटक आग्रह गर्दै आएपनि टेलिकमले अटेरी गरेको घिमिरेले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell