PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रिय गानको संगीतमाथि ओलीको प्रश्न : सयौं थुंगा फूलका अगाडि 'प्याँ प्याँ प्याँ प्याँ...' किन?



राधेश्याम पटेल

राष्ट्रिय गानको संगीतमाथि ओलीको प्रश्न : सयौं थुंगा फूलका अगाडि 'प्याँ प्याँ प्याँ प्याँ...' किन?

वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगान सच्याउन आग्रह गरेका छन्। अखिल नेपाल पिछडा वर्ग महासंघको कार्यक्रमलाई वीरगंजमा सम्बोधन गर्दै ओलीले 'सयौं थुंगा फूलका हामी' मा रहेको धुनलाई सच्याउन माग गरे। उनले राष्ट्रिय गान बजाउँदा छातीमा हात राख्ने चलन नेपालको नभएको दाबी गरे। 'बुढी औंला फटाएर कुरकुच्चातिर जोडेर उभिन्छौं र सम्मान गर्छौं राष्ट्रिय गानलाई। छातीमा हात लगाउने प्रचलन हाम्रो होइन,' उनले भने।

राष्ट्रिय गानअघि किन प्याँ प्याँ...

ओलीले अहिले मात्रै नभइ राष्ट्रिय गानबारे यसअघि पनि प्रश्न उठेको बताए। उनले गान सुरु हुनुभन्दा अगाडि १५ सेकेन्डको धुनलाई हटाउन सरकारलाई आग्रह गरेका छन्। 'म सरकारलाई आग्रह गर्न चाहन्छु। राष्ट्रिय गान अगाडि प्याँ प्याँ प्याँ प्याँ प्याँ... धुन बजाइन्छ। सयौं थुंगा फूलका हामीभन्दा अगाडिको धुन हटाइनुपर्छ,' ओलीको तर्क छ। गान सुरु नहुनुभन्दा अगाडिको धुन राष्ट्रिय गानसम्बन्धी नभएको दाबी ओलीले गरेका छन्। शब्दबाट सुरु भएर शब्दमै राष्ट्रिय गान अन्त्य हुनुपर्ने ओलीको दाबी छ। 'राष्ट्रिय गान शब्दको धुनमा सुरु हुन्छ शब्दमा अन्त्य हुन्छ। यसमा अरु धुन हालिदैंन,' उनले भने। 

'फिल्म हलमा देखाइने पुराना फोटो हटाइनुपर्छ'
सम्बोधनको सुरुमै राष्ट्रिय गानबारे सरकारको ध्यानाकर्षण गराएका ओलीले फिल्म हलमा राष्ट्रिय गान बजाउँदा पृष्ठभूमिमा देखाइन फोटा पनि पुरानै भएको भन्दै आपत्ति जनाए। लिम्पियाधुरा र कालापानी नभएको नेपालको नक्सा देखाउने गरिएकोमा ओलीको विरोध जनाए। भने, 'फिल्म हलमा राष्ट्रिय गान बजाइँदा लिम्पियाधुरा र कालापानी नभएको फोटो पृष्ठभूमिमा देखाइन्छ। सरकारले त्यसमा पनि जारी गर्नुपर्छ, नेपालका कुनै पनि कार्यक्रममा पुराना फोटोको प्रयोग गरिनु हुदैंन,' ओलीले भने।

उनले अरु ठाउँमा पनि देखाइने पुराना फोटो हटाइनुपर्ने बताएका हुन्। ओली प्रधानमन्त्री हुँदा लिम्पयाधुरा र लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा जारी भएको थियो। तर उक्त नक्साबारे अहिले पनि विभिन्न विवाद हुने गरेका छन्। ओलीले आफूले उक्त नक्सा जारी गरेकैले विभिन्न शक्तिहरुले षडयन्त्र गरेर आफूलाई पदबाट हटाइएको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell